बाँके । बाँकेमा लकडाउन (बन्दाबन्दी) मा भएका सडक दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन जारी भएसँगै अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन् ।
अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कानुसार मृत्यु हुनेमा दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र अन्य दुई सर्वसाधारण छन् ।
चैतमा भएका छ दुर्घटनामा दुई जना तथा वैशाख २० गतेसम्म भएका नौ दुर्घटनामा तीन जनाको ज्यान गएको छ । कोहलपुर क्षेत्रमा भएका दुई दुर्घटनामा मात्रै तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले जानकारी दिए ।
उनका अनुसार बढीजसो दुर्घटना तीव्र गति र चालकको लापर्वाहीले हुने गरेको छ ।
–––