arrow

कोरोना कहर भित्रको सपना

logo
शकुन्तला शर्मा,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
Sakuntala-Sharma.gif

सधैजसो झैझगडा र कलह भएको सुनिने बल बहादुरको घरमा अहिले शान्त छ। मलेसियाबाट फर्किएर आएपछि छोराले गाई फार्म संचालन गरेकोछ। खोलाको किनारमा पाँच रोपनी जग्गा भाडामा लिएर गाई पाली दुध र दुग्धजन्य पदार्थ उत्पादन गरी बजार पुर्याउने काम गर्दछ। गाउँको ८/१० जना युवा युवतीलाई रोजगार दिएकोछ। त्यस्तै गरी बल बहादुरकी दुबई गएकी छोरी पनि फर्केर आइन। उनले पनि गाउँपालिकाले दिएको तालिम प्राप्त गरी सालका पातबाट दुना टपरी बनाउने काम गर्दछिन।

वरपर सालका रुखहरु भएको ठाउँ हुनाले गाउँपालिकाले उनी लगायत १० जना महिलाहरुलाई तालिम र व्यवसाय संचालनका लागी बिना धितो ऋण लगानी गरेकोछ। गाउँको बिचमा रहेको आमा समुहको भवनमा पातहरु संकलन गर्ने काम गरिन्छ। सुरु सुरुमा छोरी बुहारीहरुले मात्रै पात टीपेर संकलन केन्द्रमा ल्याउथे भने पछि पछि फुर्सदिला पुरूषहरु पनि पात टिपेर संकलन केन्द्रमा पूर्याएपछि गाऊँपालिकाले राखेको रेट अनुसार तुरुन्तै पैसा हातमा आऊने हुनाले आकर्षित भएकाछन। गाउँपालिकाले प्लास्टिकका पेपर प्लेट निषेध गरेको छ। पालिका भित्रका निजी/ सरकारी सबै खाले कार्यक्रममा खाजा खानका लागी यिनै सालका दुना टपरी प्रयोग हूंछन।

बल बहादुरकै छिमेकी बिष्णुमायाको घरमा पनि आजभोली खुशीयाली छाएको छ। श्रीमान बिदेशमा हुँदा बिष्णुमायालाई छरछिमेकिले शंकाको दृष्टिले हेर्ने गर्थे। आफ़्नो गल्ती नहुदा नहँदै पनि उनले चारित्रिक रूपमा धेरै लांछना सहनुपर्यो। अहिले श्रीमान बिदेसबाट फर्केर आउने बित्तिकै गाउँपालिकाले व्यावसायिक ढंगले तरकारी खेती गर्ने तालिम दियो। बर्षौसम्म बाँझों रहेको आफनै बारीमा तरकारी लगाउँछन। घर परिवारका सबै सदस्यहरुलाई काम पनि पुगेको छ। काँपीरहेका हातले साँझ बत्ती बाल्दै एकासी बर्षीय आमाले “अब त यसैको काँखमा मर्न पाऊँ प्रभु” भनि पुकार्नुहुन्छ।

डोकाभरी काक्रा, घिरौला बोकेर नजिकको बजार हिडेका महिलाहरु चौतारीमा बिसाउँछन। तालुमा नाम्लोको डोब भएपनि उनिहरुको ओठमा मन्द मुस्कान छ। अनुहारमा चमक छ। आफ्ना छोरा छोरीको सुन्दर भविष्य कोर्ने अभिलाषा भरीएका ति तेजिला नयनमा मिठो सपना छचल्कीएको छ। किनभने परिवार सबै साथमा छन। घर परिवारमा मेलमिलाप छ। स्थानीय सरकारले क्षमता अनुसारको तालिम दिएको छ। सस्तो र सुलभ ढंगले ऋण लिन पाइएको छ। पहिला पहिला बचत र ऋण मात्रैको कारोबार गर्ने सहकारीहरूले पनि उत्पादनमा लगानी गरेकाछन। ब्यबसायिक ढंगले तरकारी खेती गर्दा प्रत्यक्ष रूपमा पैसा आउने काम हुनाले गाउँको चिया पसलतिर गएर गफ गर्ने र बिहान फाल्ने पुरुष सदस्यहरु पनि बिहानैदेखी बारीमा गोडमेलमै खटेको देखिन्छन्। स्कूल पढ्ने छोराछोरीहरु पनि साँझ- बिहानको समय र बिदाको दिन आफनै बारीमा लटरम्म फलेका काक्रा, घिरौला, करेलाका झालको वरिपरी आमा/बाबासंगै देखिन्छन्।

बर्षौदेखी बाँझो पल्टेका खेतबारी, पाखा पखेराहरु हराभरा भएकाछन। गाउँघरमा मानिसहरुको चहलपहल छ। हाम्रा पुर्खाहरुले गर्दै आएका कृषि पेशा साँचीकै राम्रो रहेछ। परिवार सबै संगै बस्न पाउने, सिप, क्षमता र बल अनुसारको काम गर्न मिल्ने, बिषादीरहित/ मिसाबट रहित ताजा र पोसिलो खाद्यान्न खान पाइने। बाउ आमाले गर्दै आएको परम्परागत शैलीलाई थोरै परिवर्तन गरी एकाइसौ शताब्दीको प्रविधिसंग जोड्नका लागी यांत्रिकरण र व्यबसायीकरण गरिएको कृषि पेशाले सबै नागरिकलाई रोजीरोटी दिएको छ। कृषि बिभाग, कृषि मन्त्रालय, कृषि साखा/ उपसाखामा काम गरी निबृत्त भएका कर्मचारीहरु पनि बिस्तारै बिस्तारै शहर छोडी गाउँतीर बस्न थालेका छन। बालीनाली र पशुपालन सम्बन्धी लामो समयको सैद्धान्तिक अनुभव भएका त्यस्ता बिज्ञहरुलाई स्थानिय सरकारले स्रोत व्यक्तिको रूपमा लिएको छ।

बिगतका दिनहरुमा चाउचाउका पाकेट, कोक का बोतल र चामलका बोरा लिएर शहरबाट गाउँतिर गएका गाडीहरू गाउँबाट रित्तै फर्किन्थे। तर आजभोली गाउँबाट सहर/ बजार तीर आउने गाडीहरु अन्न, अनाज, फलफुल, तरकारी र दुधदहीले भरीभराउ भएर आउँछन। राज्यले कृषि क्षेत्रलाई निकै प्रमोट गरेको छ। स्नातक, स्नातकोत्तर गरेका युवा युवतीहरूले पनि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिएका छन् र उत्पादनमूलक काम गरेका छन्।

देशभरीका ७५३ स्थानीयतहले आ-आफ़्नो भुगोल, माटो र हावापानी हेरिकन कृषि/पशुपालन पेशालाई केन्द्रमा राखेर कार्य योजना बनाएका छन्। केंद्रीय सरकराले “एक पालिका एक उत्पादन” को नीति घोषणा गरिसकेको छ। हावापानीमा विविधता भएको हाम्रो देशमा कूनै ठाउँमा ट्रकका ट्रक स्याउ उत्पादन भएको छ। कतै सुन्तला, कतै केरा, कतै तरकारी, कतै अदुवा, कतै बेसार, कतै चिया, कतै अलैंची, कतै स्ट्रोबेरी। कुनै कुनै पालिकामा दुध र दुग्धजन्य पदार्थ, कुनै कुनैमा अण्डा, मासु लगायतका खाद्य पदार्थले देश आत्मनिर्भर मात्र नभै निकासी पैठारी समेत गर्ने अवस्थामा पुगेको छ।

बिगतको केही समय बिश्व मानव जगतले नै कोरोना कहरसँग जूट्नुपर्यो। हाम्रो देश पनि अछुतो रहेन। बिश्वका अधिकांश देशहरूले लकडाउन गरी मानिसहरु घरभित्रै थुनिनुपर्ने परिस्थिति पनि बन्यो। सिंगो मानव समुदायलाई घर भित्र थुनेर पृथ्वी शान्त, सौम्य र दंग भयो। आर्थिक क्रियाकलापहरु सबै ठप्प भए। कुनै जात, धर्म, धनी/ गरिब, ठुलो/सानो केही नभनी कोरोनाले सबैलाई पिडा दियो। यस्तो विषम परिस्थितिमा पनि जुन जुन देशमा सक्षम र जनमुखी नेतृत्व थियो, ति देशहरुले छिटो मुक्ति पाए।

हाम्रो देशमा पनि पूर्ण रुपमा लोकतान्त्रिक र समावेशी चरित्रको संबिधान छ। दुई तिहाई बहुमतको सरकार छ। तीनै तहको निर्वाचन भएर जनताका प्रतिनिधिले शासन गरेकाछन्। सिंहदरबारको अधिकार स्थानीय तहका जनप्रतीनिधि मार्फत जनताको घर आँगन पुर्याइएको छ । भुगोल, जातजाती र धर्म संस्कृतिमा बिबिधता भएको देशमा नागरिकहरुका बीचमा भगिनी र भाइचाराको सम्बन्ध छ। त्यसैले होला कोरोना कहर पछि छिट्टै नै हाम्रो देशमा सबैकुरा व्यवस्थापन भएको छ।

हाम्रो देशको अर्थतन्त्र बलियो बनाउने सम्भावित क्षेत्र भनेकै कृषि, पर्यटन र हाइड्रोपावर हुन। कृषि क्षेत्रले त परिणाम नै निकाली सकेको छ। पर्यटन प्रबर्द्धन र हाइड्रोपावरतिर पनि राज्यले विशेषज्ञहरुसँग परामर्श लिइरहेको समचार सुनिएको छ। वास्तवमा नेतृत्व सही भयो भने बिषबाट पनि मंथन गरेर अमृत निकाल्न सकिन्छ भनेको यही होला।

यत्तिकैमा घडीको अलार्म बज्यो, झल्यास्स विउझीएँ। बिहानको ५ बजेको रहेछ। हत्तेरीका ! यो सब त सपना पो रहेछ। कोरोना कहर उस्तै छ। समचार सुन्छु, बैठक भएका छन। आफुलाई जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मी, सूचना संकलन/ संप्रेषणमा खटेका पत्रकार, सुरक्षाकर्मी, अन्नअनाज र दुध उत्पादन गरी बिक्रीबितरण गर्न नपाएका कृषकको पिडा लगायतका समसामयिक र अति आवश्यकीय कुरालाई छोडेर पदको हानथाप छ। हस्ताक्षर संकलन गर्न लागियो रे। सांसदहरु खरीद, बिक्री र अपहरण समेत भएका छन्। महाभारतका सकुनीका पासा यहाँ पनि फालिएकाछन्। कसकसलाई केके बनाउने रे। कठै! मेरो देश।

(शकुन्तला शर्मा नेपाल ट्रेड यूनियन कांग्रेसकी राष्ट्रीय महिला समिति उपाध्यक्ष हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ