arrow

बजेट देखाएर स्थायी समिति टार्ने प्रयासमा ओली, बजेट ल्याउनै नदिने रणनीतिमा प्रचण्ड र नेपाल

logo
प्रकाशित २०७७ वैशाख २० शनिबार
corona-ncp-meeing.jpg

काठमाडौं। सत्तारुढ नेकपाको विवादको प्रभाव केहि न केहि रुपमा अर्थ मन्त्रालयमा देखिन थालेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटको तयारीका लागि जुन सक्रियता हुनुपर्‍थ्यो त्यझ यो पटक देखिएको छैन।

हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अधिवेशनको तयारीको लागि संसदको तयारीको अवलोकन समेत गरिसेका छन्। उनले सामाजिक दुरी कायम गर्दै संसद वैठक बसाउने तयारीको बारेमा जानकारी लिएको तस्विर र समाचार पनि सार्वजनिक भयो सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी भइरहेको संकेत उनले दिएका थिए। 

तर अर्थ मन्त्रालयमा जुन उत्साह देखिनुपर्‍थ्यो त्यो नभएको एक उच्चस्तरिय कर्मचारीले बताए। सरकारकै तलमाथि सम्मको चर्चा भइरहेका बेला बजेटमा काम गर्ने कर्मचारीहरुको उत्साह कम देखिनु स्वभाविक मान्छन ति कर्मचारी। तर पनि कर्मचारीहरु काम भने गरिरहेका छन्। तर कथं मन्त्री परिवर्तन भएर नयाँ मन्त्री आए उनीसँग उसका नयाँ प्राथमिकतामा काम गर्नुपर्ने होकी भन्ने सशंय भने कर्मचारीहरुमा छ। 

मन्त्रालयमा यो अन्यौलको स्थितिमै काम भइरहँदा प्रधानमन्त्री केपी ओली र उनको टीम भने बजेट अधिवेशनको यहि तयारीलाई देखाएर नेकपाभित्र जोडतोडले माग भइ आएको स्थायी समितिको वैठक टार्न प्रयासरत छ। संसदमा जेठमा बजेट पेश गर्नुपर्ने हुन्छ। 

सचिवालय बैठकमा ओलीले कोरोना महामारी र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने चटारोलाई प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रचण्ड र माधव नेपाल पक्ष भने उनलाई बजेट ल्याउनै नदिने रणनीति अख्तियार गर्नेसम्मको तयारीमा रहेको बुझिएको छ। बजेट र कोरोना महामारीको चटारो सकिएपछि स्थायी कमिटी बैठक बोलाएर बाँकी कुरा गर्ने प्रस्तावलाई सचिवालयमा मनाउन सकिए आफ्नो राजीनामा र विरोध तत्कालका लागि टर्ने बुझाइमा ओली भएपनि प्रचण्ड-नेपाल समूह उनलाई बजेट ल्याउनै नदिने रणनीतिमा रहेको बुझिएको छ। 

ओलीनिकट नेकपा नेताहरु महामारीका बेला राजीनामा माग्नु अनैतिक कुरा भएको तर्क गर्दै यस्तो बेलामा सरकार फेरवदलमा लाग्ला सकारात्मक सन्देश पनि नजाने भन्दै यहि कुरालाई स्थायि समितिमा लैजाने तयारीमा छन्। ओली निकटहरुले वालुवाटारमा भेला भइ यो कुरालाई जोडतोडले सचिवालयमा राख्न समेत सुझाव दिएका छन्। 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले शुक्रबार बेलुका कोटेश्वरमा भेलागरी प्रधानमन्त्रीको तत्काल राजीनामा माग्ने र स्थायी कमिटी बैठक बोलाएर छलफल गर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले राजीनामा दिन्छु भनिसकेकाले आज बस्ने सचिवालय वैठकले निर्णय गर्नुपर्ने माधव नेपाल निकट एक नेताले बताए। 

२० जना स्थायी सदस्यले लिखित रुपमा माग गरे अनुसार प्रचण्ड-नेपाल समूह सचिवालयबाट राजीनामा गराएर स्थायी कमिटीबाट निर्णय गराउने रणनीतिमा लागेको एक स्थायि समिति सदस्यले बताए। यहि रणनीतिलाई चिर्ने प्रयासमा ओली शनिवारको सचिवालय वैठकमा हुनेछन्।

यो रस्साकस्सीकै बीचमा सचिवालयको वैठक बस्नुअघी प्रचण्ड, माधव नेपाल र वामदेव गौतमलाई ओलीले फकाउन अलग अलग प्रस्ताव गरेका छन्। प्रचण्डलाई ५ बर्ष अध्यक्ष बन्ने प्रस्ताव गरेका ओलीले आफूलाई बाँकी समय प्रधानमन्त्री हुन दिन सहयोग मागेका छन्।  केपीको प्रस्ताव मानेको अवस्थामा एक किसिमले र नमानेको अवस्थामा अर्को ढंगले नेकपाको राजनीति जाने देखिन्छ। यसको लागि शनिवार साँझ सम्म कुर्नु पर्ने  हुन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ