राजपाका ६ वटै अध्यक्षले जनाए समाजवादीसँगको एकीकरणमा सहमति
एकिकरणपछिको १३ सयको केन्द्रीय समितिलाई घटाउने गृहकार्यमा जनता समाजवादी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
618
Shares
काठमाडौं । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका ६ जना अध्यक्षले नै तत्कालिन समाजवादी पार्टीसँग एकीकरण गर्न सहमति जनाएका छन् ।
वैशाख १० गते तत्कालिन राजपा र समाजवादीवीच पार्टी एकीकरण घोषणा हुँदा राजपाबाट ४ जना अध्यक्षले मात्र सहमति जनाएका थिए। बाँकि दुई जना अध्यक्ष राजकिशोर यादव र अनिल झाले सहमतिपत्रमा हस्ताक्षर गरेका थिएनन ।
सहमति पत्रमा झा र यादवले सहमतिमा हस्ताक्षर नगरेको भए एकीकरण प्रक्रिया अघि बढ्न सक्दैनथ्यो । राजपाको विधानमा राजपाले गर्ने हरेक निर्णय ६ जना अध्यक्षको सर्वसम्मतीबाट हुनु पर्ने व्यवस्था गरिएको छ । त्यसैले झा र यादवले हस्ताक्षर गर्न आनाकानी गरेको भए एकीकरण प्रक्रिया संकटमा पर्ने थियो । कार्यकर्ता पंक्तिमा पनि केहि शंसय उत्पन्न भएको थियो ।
तर वैशाख १६ गते बसेको तत्कालिन राजपाको अध्यक्ष मण्डलको बैठकले सर्वसम्मतत रूपमा समाजवादीसँग एकीकरण गर्ने प्रस्तावलाई अनमोदन गर्ने निर्णय गरेको राजपाले जनाएको छ । राजपा र समाजवादीवीच भएको एकीकरणको सहमतिलाई अध्यक्ष मण्डलको सर्वसम्मतीबाट अनमोदन गरिएको अध्यक्ष मण्डलको बैठकले गरेको निर्णयमा भनिएको छ ।
वैशाख १० गते मध्यरातमा तत्कालिन राजपा र समाजवादीवीच एकीकरण भइ जनता समाजवादी पार्टी गठन गरिएको थियो । त्यसको भोलीपल्ट तत्कालिन राजपा र समाजवादी पार्टीका नेताहरू निर्वाचन आयोग र संसद सचिबालयमा गइ पार्टी एकीकरणको विषयमा जानकारी गराएका थिए । तर ती सबै प्रक्रियामा राजपाका दुई नेता झा र यादव अनुपस्थिति रहेका थिए । यती मात्र नभइ पार्टी एकीकरणकोलागि गरिएको वार्तामा समेत झा र यादव अनुपस्थिति रहेका थिए । तर त्यसको ६ दिन पछि मात्र झा र यादवले पार्टी एकीकरण प्रक्रियामा सहमति जनाएका छन् ।
कानुन अनुसार पार्टी एकीकरण गर्ने सहमतिलाई दुवै पार्टीको केन्द्रीय समितिको बैठकबाट अनमोदन गराउनु पर्छ । निर्वाचन आयोगमा निबेदन दिएको ४५ दिनभित्र सबै कागजाताहरू आयोगमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ । उक्त व्यवस्था अनुसार अहिले दुवै पार्टीले
आफ्ना केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्न सुरु गरेका छन् । यसकोलागि दुवै पार्टीका नेताहरूले जिल्ला जिल्लामा खाली कागज पठाएका छन् । खाली कागजमा केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरी काठमाडौं बुझाउन मातहतका समितिहरूलाई अह्राइएको छ । राजपामा करिब साढे सात सय र समाजवादीमा करिब साढे ४ सय केन्द्रीय सदस्य छन् । ती मध्ये धेरै जसो अहिले काठमाडौं बाहिर छन् । लकडाउनका बेला केन्द्रीय समितिको बैठक बोलाउन सम्भव नभए पछि जिल्ला जिल्लाबाट हस्ताक्षर संकलन गर्न सुरु गरिएको पार्टीका नेताहरूले जनाएका छन् ।
स्रोतका अनुसार एकीकृत जनता समाजवादीका नेताहरूले पार्टीको नेतृत्व मण्डल कस्तो बनाउने भन्ने विषयमा गृहकार्य सुरु गरेका छन् । वैशाख १० गते राती भएको सहमतिमा एकीकृत पार्टीको पहिलो अध्यक्षमा महन्थ ठाकुर दोश्रो अध्यक्षमा बाबुराम भट्टराईलाइ राख्ने मात्र सहमति भएको थियो । त्यसपछि अरू विषयमा सहमति भएको थिएन । नव गठित पार्टीको तेश्रो मयार्दाक्रममा कसलाई राख्ने भन्ने विषयमा अझै सहमति भएको छैन । तेश्रो मयार्दामा उपेन्द्र यादवलाई राख्ने कि अशोक राइलाई राख्ने भन्ने विषयमा पार्टीका नेताहरू एक मत हुन सकेका छैनन । तेश्रो मयार्दामा यादवलाई राखेमा चौथौ मर्यादामा राइलाई राख्ने कि राजेन्द्र महतोलाई राख्ने भन्ने विषयमा अर्को चुनौती थपिने भएको छ । यसैगरी सुरु देखि नै असन्तुष्टि जनाएका अनिल र राजकिशोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि अर्को चुनौती छ ।
यसैगरी एकीकृत पार्टीका नेताहरूले नवगठित पार्टीको केन्द्रीय समितिको आकार कस्तो बनाउने भन्ने विषयमा पनि गृहकार्य सुरु गरेका छन् । दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीको केन्द्रीय सदस्य बनाउँदा नव गठित पार्टीमा केन्द्रीय सदस्यको संख्या मात्र करिब १३ सयको हाराहारीमा बनाउनु पर्ने हुन्छ । यती ठूलो संख्यामा केन्द्रीय समिति बनाउन नहुनेमा दुवै पार्टीका नेताहरूले सहमति जनाएको स्रोतको भनाइ छ ।