काठमाडौं। सत्तासीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला चीनको चासो फेरि ह्वात्तै बढेको देखिएको छ। कोरोनाको संक्रमण भन्दा तेज गतीमा नेकपाका आन्तरिक खेमाहरु ध्रुविकृत हुँदै जाँदा उत्तरी छिमेकी चीनको नेपालमा गतिविधी ह्वात्तै बढेको हो।
लामोसमयदेखि पन्पिरहेको नेकपाको आन्तरिक विवाद विवादास्पद दुई अध्यादेश ल्याएसँगै फुटेको थियो। विवादको पोको मात्र फुट्ने होकी पार्टी नै फुट्ने हो भन्ने सम्मको चासो पनि यस बीचमा नेकपा बृत्तमा देखियो।
कार्यकारी अध्यक्ष प्रचण्डसँगको भेटमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले तपाई आफ्नो काम गर्नु म आफ्नो काम गर्छु भन्ने जवाफ दिएका थिए। धेरै जोर जवर्जस्ती गरे आफू नयाँ पार्टी बनाउने तयारीमा रहेको उनको संकेत थियो।
वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटमा पनि ओलीले आफू पार्टी फुटाउने नभइ नयाँ पार्टी बनाउने अवस्थासम्म जाने बताएका थिए। नेकपाका एक स्थायी समिति सदस्यका अनुसार एकदमै खराब अवस्था आए आफू नेकपा एमालेलाई व्यूताउने गरि जाने बताएका थिए। पुरानै पार्टीको नाममा नयाँ पार्टी पुनर्गठन गर्दा पुरानो एमालेका जति आफूसँग आउने विश्वासमा ओली रहेको समेत देखिएको नेकपाका नेताहरु बताउँछन्।
नेता हेरेर अलगअलग कुरा गरिरहेका ओलीले सबैलाई पार्टी फुट्न समेत सक्ने भन्दै तर्साइरहेका छन्। त्यो अवस्थामा पार्टी फुटेको जस अपजस सबै लिन तयार हुनुपर्ने भन्दै ओलीले आफ्ना समकक्षी नेताहरुलाई भनेको ति स्थायी समिति सदस्यले बताए।
२०७४को संसदीय चुनाव अघी दशैंका बेलामा तत्कालिन नेकपा एमाले र माओवादी मिलेको कुरा धेरैका लागि आश्चर्यको विषय थियो। कुनै तेस्रो शक्तिको प्रयास विना यो मिल्न सम्भव थिएन भनिरहँदा यसको पृष्ठभुमीमा उत्तरको छिमेकी चीन देखियो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चीन सरकारले यि दुई पार्टी मिलाई नेकपा बनाउन अहं भूमिका खेलेका कुरा अब लुकेको छैन। त्यसपछि दुई देशका दुई कम्युनिष्ट पार्टीहरुका गतिविधी र उच्चस्तरिय भ्रमण टोलीको आदानप्रदानदेखि कार्यकर्तास्तरसम्म सम्वन्ध विस्तार गर्न भएका प्रयास जुटेको नेकपालाई थप बलियो बनाउन थियो।
तर कोरोना महामारीसँगै नेकपामा देखिएको राजनीतिक उतारचढावले फेरि चीनको भूमिकालाई एकपटक सतहमा ल्याइदिएको छ। यसबीचमा चीनका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई फोन गरेर कोभिड १९ सँग लड्न नेपाललाई जुनसुकैस्तरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको भन्ने समाचार वाहिर आयो। सार्वजनिक खपतका लागि ति कुरा वाहिर ल्याइए पनि भित्री रुपमा नेकपा जोड्दा प्रयोग भएको चिनियाँ रसायनलाई फेरि प्रयोगमा ल्याउनु पर्छकी भन्ने उद्धेश्य नै थियो।
यसैबीचमा नेकपाको राजनीतिमा हात हालेको भनेर पटकपटक विवादित राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चीन फिङको टेलिफोन संवादका क्रममा चार दिनअघि सोमबार राजदूत हौ यान्छीले भेटेकी थिइन्।
चिनियाँ राष्ट्रपतिले नेपाली राष्ट्रपति मार्फत नेकपाका नेताहरुलाई सन्देश दिन चाहेका थिए। चीनले नेकपाको विग्रह मन नपराएपछि चीनियाँ राजदुत जुनस्तरमा सक्रिय भइरहेकी छिन् त्यो सक्रियतालाई नेपालको आन्तरिक मामिलाको ‘माइक्रो मेनेज्मेन्ट’ खालको भएको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन्।
विगतमा कतिपय देशले यस्तै व्यवहार देखाउँदा आलोचित हुनुपरेको थियो। अहिले चीनको भूमिका पनि सोहि स्तरमै रहेको धेरैले अनौपचारिक तहमै भएपनि टिप्पणी गर्न थालेकाछन्। एकिकरणमा आफ्नो समेत भूमिका रहेको नेकपा नफुटोस भन्ने चाहनाका साथ चीन नेकपा भित्रको द्वन्दको माइक्रो मेनेजमेण्टमा लागेको नेकपाका ति स्थायी समिति सदस्य बताउँछन्।
चिनियाँ राजदूत हौ यान्छीले भेटघाटलाई निरन्तरता दिदै शुक्रबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न पुगिन। खुमलटारमा प्रचण्डसँग कुराकानी गरेलगत्तै उनले नेकपा नेता माधवकुमार नेपाललाई भेटेकी छन् । दुई दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले नेपाललगायतका नेतासँग तीन घण्टा लामो भिडियो कन्फरेन्स गरेका थिए ।
बिहीबार राती चिनियाँ राजदुतले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा लामो वार्तालाप गरेकी थिइन् ।
स्रोतहरूका अनुसार नेकपाको संभावित विभाजन रोक्न र मिलेर जान उनले नेकपाका नेताहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट सुझाव तथा दवाव दिएकी छिन् । प्रचण्डसँगको भेटपछि नेकपाका एक स्थायी समिति सदस्यले भने- 'कुनै सूत्र निकालेर सहमतिमा पुग्न चिनियाँ राजदूतले आग्रह गरिन् ।'
प्रधानमन्त्री परिवर्तनसम्मको खेलमा पुगेको नेकपा विवाद ओलीले सांसदसमेत नरहेका वामदेव गौतमलाई प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्न गरेको प्रस्तावपछि नयाँ ढंगले तरंगित भएको छ। पछिल्लोपटक चिनियाँ राजदूतको दौडधुपले नेकपाको राजनीतिक विवादलाई कता पुर्याउँछ, त्यसको संकेत २० गते बस्ने भनिएको सचिवालय बैठकमा देखिने अनुमान गरिएको छ ।