दिप्रुङ चुईचुम्मा गाउँपालिकाले शहरमा रहेका आफ्ना नागरिकलाई पठायो राहत
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
687
Shares
खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका खोटाङले उपत्यकामा रहेका र लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरूलाई राहत वितरण गरेको छ ।
बैशाख ४ गतेको गाउँकार्यपालिकाको बैठकबाट उपत्यकामा रहेका पालिकाका स्थानिय समाजसेवी गणेश थापाको संयोजकत्वमा नवराज रोका र गाउँ पालिकाका कर्मचारी संन्जिब आचार्य सहितको ३ सदस्यीय राहत वितरण कार्यदल बनाई लकडाउनका कारण चुलो चौकामा असर परेका आफ्ना नागरिकलाई उनीहरू बसेकै स्थानमा पुगेर राहत वितरण गरेको हो ।
सामाजिक दुरी कायम गर्दै लकडाउनको पालना गर्नुपर्ने नेपाल सरकारको मापदण्ड बमोजिम आफ्ना नागरिकलाई स्थानिय सरकारको कर्तब्य र जिम्मेवारी ठानी राहतको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए।
वर्तमान अवस्थामा उपत्यका बाहिरका स्थानिय सरकारले गाडी रिजर्व गरेर गाउँमा आरडीटी टेष्ट समेत नगरी आफ्ना मान्छे ल्याउने कार्य गलत भएको धेरैको बुझाई छ। विश्व स्वास्थ्य संगठनको मान्यता विपरितको ओहोरदोहोरले कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले कमजोर आर्थिक अवस्था भएकाहरु जहाँ बसेका छन् त्यहि राहत वितरण गरिएको बताउँदै अध्यक्ष राईले भने, ‘एकातिर रिजर्व गरेको बसको लाखौं लाख पैसा पनि स्थानिय तहले तिर्नुपर्ने, बसबाट ल्याएका मान्छेलाई गाउँमा क्वारेन्टाईनमा राख्दा खाना बस्नको लागि खर्च पनि गर्नु पर्ने, रेखदेखका लागि थप जनशक्ति र रकमको जोहो पनि गर्नुपर्ने हुँदा स्थानिय सरकारलाई तेहोरो खर्चबाट जोगाउन र अभावका कारण मजदुर र विद्यार्थीहरू पैदलै हिडेर घर आउने बाध्यताको अन्त्य गर्न शहरी राहत कार्यक्रम ल्याउनु परेको हो ।’
उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका कुनाकुनामा समेत रहेका र समस्यामा परेका मजदुर, विद्यार्थी र विरामीहरूलाई ३ सदस्यीय कार्यदलले राहत सामग्रीको विभिन्न मापदण्ड तयार गरी प्रति परिवार १५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, एक प्याकेट नुन वितरण गरेको थियो भने दुई जनाको परिवारलाई, १० केजी चामल, २ केजी दाल, आधा लिटर तेल र एक प्याकेट नुन दिईएको थियो ।
त्यस्तै एक मात्र ब्यक्ती भएकालाई ५ के जी चामल, १ केजी दाल, आधा लिटर तेल र एक प्याकेट नुन गरि २०७ घर परिवारलाई राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रमबाट उपत्यकामा मात्रै ६ सय भन्दा बढी नागरिक लाभान्वित भएका थिए । गाउँपालिकाले उपत्यका बाहिर सुनसरी, मोरङ्ग जिल्लामा पनि समस्यामा परेका आफ्ना नागरिकका लागि राहत कार्यक्रम लागु गरिएको छ ।
मातृभूमिका जनताको सेवा गर्ने पवित्र अवसर प्रदान गरेकोमा पालिकालाई धन्यवाद ब्यक्त गर्दै पालिकाले दिएको जिम्मेवारी पारदर्शी ढङ्गले कुशलतापुर्वक निर्वाह गरेको कार्यदलका संयोजक गणेश थापाले जानकारी गराए ।