काठमाडौंमा अलपत्र परेका सर्वसाधारणहरुलाई गाउँ ल्याईयो
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
537
Shares
खोटाङ। कोरोना भाइरस (कोभिड १९) अहिले महामारीको रुपमा विश्वभर फैलिएको छ । नेपालमा पनि ४५ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ भने ७ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस न्यूनिकरण तथा रोकथामका लागि देशका तीनै तहका सरकार लागि परेका छन् । कोरोना न्यूनिकरण तथा रोकथामका लागि देशलाई पूर्णरुपमा लक डाउन गरिएको आज ३१ दिन भएको छ । लक डाउनका कारण लाखौं सर्वसाधरण अलपत्र परेका छन् । अलपत्र परेका सर्वसाधरणलाई स्थानीय सरकारले बलबुताले भ्याएसम्म उद्धार तथा सहयोग गरिरहेका छन् ।
यसमा पनि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई घर भित्र्याउन थालेको छ । नगरले आफ्ना नागरिकप्रति यो सवैभन्दा उदाहरणीय कार्य गरेको हो । सवै नाका सिल गरेको, लक डाउन भएको अवस्थामा कसरी आफ्ना नागरिक ल्याउन सक्छ नगरले ? भन्दै विरोधका आवाज उठेपनि चुनौति मोलेर नगरले आफ्ना नागरिक अन्तत ल्याएरै छोडेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले भने, “पैसा र पहुँच हुनेहरु लक डाउन हुनु भन्दा अगाडी वा बिचमा घर फर्किए । तर, दैनिक ज्यालादारी गरेर काठमाडौंमा जीवन गुजारा गरिरहेका, अध्यन गर्न बसेका विद्यार्थी, औषधी उपचारको लागि बसेका जेष्ठ नागरिकहरु अलपत्र हुनुहुन्थीयो । उहाँहरु घर आउन चाहनुहुन्थ्यो । त्यसैले हामीले विभिन्न चुनौतिम मोलेर घरसम्म ल्याएका हौं ।”
विभिन्न कामको सिलसिलामा काठ्माण्डौंमा बसिरहेको अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका सर्वसाधारणलाई नगरपालिकाले बसको व्यवस्था गरेर गाउँ ल्याउन सुरु गरेको छ । बिहिबार बिहान काठ्माण्डौंबाट १२ वटा बसमार्फत ५८६ सर्वसाधारण खोटाङको प्रमुख नाका जयरामघाट आइपुगेको नगर प्रमुख राईले बताए ।
उनीहरुलाई होम क्वारेन्टीनमा राख्ने गरी नगरपालिकाले घरसम्म ल्याउने व्यवस्था मिलाएको हो । बुधबार पनि नगरपालिकाका ५१ जना घर फर्किएका छन् । ‘लकडाउन’का क्रममा अन्य पालिकाका सर्वसाधारण आफैले बस रिजर्भ गरेर जयराम नाका प्रवेश गरेको नगरपालिकाले जनाएको छ । बिहिबार अन्य स्थानीय तहका ७४ सर्वसाधारण जिल्ला प्रवेश गरेको राईले बताए ।
काठ्माण्डौंबाट नगरपालिका प्रवेश गर्ने स्थानीयलाई जयरामघाटमा स्वास्थ्य परिक्षण सँगै होम क्वारेन्टीन वा नगरपालिकाले तोकेको क्वारेन्टीनमा बस्नका लागि कबुलियतनामामा सहिछाप गराएर मात्र घर पठाउने व्यवस्था मिलाइएको छ ।