प्रधानमन्त्रीको भनाइप्रति कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको आपत्ति
‘हजारौंको संख्यामा गाँस बासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिँडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा हो’
प्रकाशित २०७७ वैशाख ८ सोमबार
676
Shares
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाएका छन् ।
उनले आइतबार प्रधानमन्त्रीद्वारा सरकारी संचारमाध्यम मार्फत सार्वजनिक अभिव्यक्तिका केही अंशले वर्तमान सरकार र प्रधानमन्त्री जनताले भोगेका चरम कष्टप्रति कति असंवेदनशिल र बेखबर छन् भन्ने प्रष्ट गरेको समेत उल्लेख गरेका छन् ।
उनले ‘हजारौंको संख्यामा गाँस बासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिँडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा हो’ भनेका छन् ।
सहमहामन्त्री महतले ‘जनताले भोगेका समस्यालाई संचार माध्यमहरुले सरकारको ध्यानाकर्षण गराउँदा समस्या समाधानतर्फ उन्मुख हुनुको साटो सो सम्बन्धि समाचार रहस्यमय ठान्नु आपत्तिजनक छ’ भनेका छन् ।
महतले ‘यसले सरकारको सुचना प्रविधिमाथिको अविश्वास र प्रेस स्वतन्त्रता माथिको नियन्त्रण नै देखिन्छ’ भनी आरोप लगाएका छन् ।
नेता डा महतले ‘स्वास्थ सामग्रीको खरिदका बिषयमा समेत प्रधानमन्त्रीले दोषीको छानबिन गरी कार्वाहीको प्रक्रिया आगाडि बढाउने प्रतिबद्धता जनाउनुको विपरीत बचाउमा देखिनु आपत्तिजनक’ भएको समेत बताएका छन् ।