काठमाडौं । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख ८ गतेसम्म आइपुग्दा २८ औं दिनमा चलिरहेको छ ।
सरकारले लकडाउन बैशाख १५ गतेसम्म थपिसकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढेर ३१ पुगिसकेको छ ।
संक्रमणको रेड जोनमा सय भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइसोलेसनमा १०३ जनालाई राखिएको छ ।
८ हजार ८१ जनाको परीक्षण भएकामा ४ लाई निको भएको छ । दुई लाखको हाराहारीमा परीक्षण गर्नुपर्ने भए पनि अहिलेसम्म आडीटीसमेत गरी जम्मा ३० हजारको हाराहारीमा मात्र परीक्षण भएकाले खतरा अझै कायमै रहेको छ ।
लकडाउन अझै बढाउनु पर्ने बताइएको छ । त्यस्तै भारतमा अझ बढी संक्रमित भएकाले पनि लकडाउन बढाउनुको विकल्प नभएको बताइन्छ ।
लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सोमबार बिहान काठमाडौंबाट ५६८ जनालाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै ललितपुरबाट २२९ जनालाई नियन्त्रणमा लिइएको छ । भक्तपुरबाट ५ जनालाई होल्डमा लिइएको छ ।
मुख्य सडकमा कम रहे पनि भित्री सडकहरुमा निरन्तर मानिसको आवत जावत भइरहेको छ ।
त्यस्तै ६८ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । सोमबार बिहान ६८ दुई पाङ्ग्रे साधनलाई नियन्त्रणमा लिएको हो । चार पाङ्ग्रे साधनलाई भने नियन्त्रणमा परेका छैनन् ।
आइतबार काठमाडौं उपत्यकाबाट ३ सय ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको थियो । जसमा दुई पाङ्ग्रे ३५६ तथा चार पाङ्ग्रे ४१ वटा रहेका थिए ।
शनिबार उपत्यकाबाट ३ सय २ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको थियो । जसमा दुई पाङ्ग्रे २८३ तथा चार पाङ्ग्रे १९ वटा रहेका थिए ।
सवारी साधनलाई बिहानदेखि बेलुकासम्म नै होल्डमा राखिन्छ । आवश्यक परे समन्वय गरेर बढी समयसम्म पनि राख्न सकिने छ ।
गएको बिहीबारदेखि अलि बढी नै कडाइ गरिएको छ । अनावश्यक पास दिइएको छैन । मृत्युसंस्कारमा जाने परिवारका मानिसलाई बाहेक अरु कसैलाई पनि पास नदिने प्रहरीले जनाएको छ ।