arrow

कोरोनाको उपचारपछि घर फर्किए चार संक्रमित

logo
रासस
प्रकाशित २०७७ वैशाख ७ आइतबार
corona-virus-awareness.jpg

काठमाडौं । कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष पनि कोभिडको उपचारपछि घर फर्किएको बताए । ती संक्रमितको पनि पिसिआर विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अस्पतालबाट घर पठाइएको हो ।

शनिबार साँझ धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत कोभिड संक्रमित ६५ वर्षीया महिलालाई घर पठाइएको थियो । शनिबारै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड संक्रमित १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएका थिए । 

नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो संक्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उनमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’ को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’ लाई निरन्तरताको निर्णय गरेको थियो ।

 सरकारले काठमाडौँ उपत्यकासहित देशैभर ‘लकडाउन’ कडाइ गरेको छ ।  अहिलेसम्म तेस्रोपटक ‘लकडाउन’ थप गरिसकेको छ । सरकारले यही वैशाख १८ सम्म सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ । पछिल्लो विवरणअनुसार कोभिड– १९ का संक्रमित कूल ३१ जनामध्ये चार फर्किएका हुन् । अन्य २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । उनीहरुमध्ये टेकु अस्पतालमा एक, पाटन अस्पतालमा दुई, बाग्लुङ अस्पतालमा एक, धनगढी अस्पतालमा एक, वीरगञ्जमा चार र विराटनगरमा १३ जना रहेका छन् । काठमाडौँ बाहिरका अस्पतालमा पनि उपचार भइरहेकाले कोभिड उपचारमा सहजता भएको मन्त्रालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ