- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कलम र मसाल अङ्कित क्रान्तिवाहक ध्वजालाई सधैं उचो राख्ने क्रममा प्राण भन्दा आदर्श मुल्यवान हुन्छ भन्ने नेविसंघको स्मरणीय सहिदहरु कामेश्वर र कुशेस्वर, लिला र ठगी, राम, लक्ष्मण, पेशल, केशव, सुरत, बुधन मियाँ, सागर सिंह, राजन गिरि, मिथिलेश दुवे लगायतका सहिदहरुले हाँसी हाँसी शहिद बन्न तयार भएका थिए । आज नेविसंघको ५१ औं स्थापना मनाइरहदा उनै सहिदहरुको सहादतको सम्झना आइरहेको छ। अहिले यसो सोच्दैछु यी अमर सहिदहरुले हाँसी हाँसी आफ्नो ज्यानको आहुती किन दिए ? वि.सं. २०२७ साल बैशाख ६ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापना नभएको भए के हुन्थ्यो ? जनमतसंग्रह हुँदै प्रजातन्त्र पुर्नस्थापना र संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा अगाडि कसरी बढ्थ्यो ? नेविसंघ नरहेको भए देशमा यति धेरै राजनीतिक घटनाक्रम सहज हुन्थ्यो ?
ईतिहासमा २०२७ सालपछि नेविसंघ हस्तक्षेपकारी शक्ति सावित भएकै हो । राजनीतिक परिवर्तनहरुमा नेविसंघले आफ्नो अग्रणी भूमिका देखाएकै कारण नेविसंघ आज पर्यन्त बलियो राजनीतिक संगठनका रुपमा रहँदै आएको छ। तर स्थापना भएको यति धेरै वर्ष पछि नेविसंघ हिजोजस्तो रहेन । आज स्थापना दिवस मनाउँदै गर्दा नेविसंघको केन्द्रीय कार्यसमिति पुर्णत: अस्तित्वमा पनि छैन ।
हिजो विद्यार्थी माझ रहेको नेविसंघ आज पार्टीका शिर्ष नेताहरुको गुटउपगुट, नेताहरुको आफ्नो आसेपासे तथा दिनभरी पार्टीको नेताहरुको पछि पछि हिड्नेहरुको हातमा कसरी र किन पुग्यो ? पार्टीका नेताहरुले कलम र मसाल अङ्कित झण्ड प्रती आफ्नो ईमानदारीता किन देखाएनन? हिजो देशको हरेक राजनीति घटनाप्रती गम्भीरतापूर्वक नजर राख्ने नेविसंघ आज आफैंआफैमा किन लडाइँ गरिरहेका छन् ? हिजो नेविसंघ हरेक स्कुलकलेजमा थिए तर आज नेताको नजिक मात्रै किन सिमित रह्यो ? विद्यार्थीको हकहित र अधिकार संरक्षणका निम्ति सदैव लडिरहेका नेविसंघभित्र आज नेताहरुद्वारा संचालित गुट उपगुटको राजनीति किन र कसरी फस्टायो ? नेविसंघको नेता विद्यार्थीहरुलाई चुन्न नदिई राजनीति स्वार्थ स्वरुप पार्टीको नेताहरूले नै चुन्ने संस्कृतिको शुरुआत किन गरियो ? हिजो पार्टीको गलत कुराको विरुद्ध बोल्न सचेत गराउने नेविसंघ आज पार्टीको नेताको अगाडि नतमस्तक किन र कसरी भए ? नेविसंघलाई ‘कोमा’ मा पुर्याउन पार्टीको नेताहरु धमिलो राजनीति किन खेल्दैछ्न ? विधान सम्मत हरेक २ दुई दुई वर्षमा नेविसंघ महाधिवेशन हुनुपर्ने तर लोकतन्त्रको दुहाई दिने नेताहरुले नियम विपरीत विधिकानुन मिचिमिचि महाधिवेशन नगराएको ? अहिले यस्ता संगिन प्रश्न नेबिसंघका कार्यकर्ता विद्यार्थी माझ घर गरिरहेको छ । जस्को सहि जवाफ कसैले दिन सकेकव छैन।
अहिलेसम्म नेविसंघले जम्मा १९ जना अध्यक्ष पाईसकेको छ त्यसमध्ये धेरै नेतृत्व विद्यार्थीलाई चुन्न नदिएर पार्टीको नेताले चुने । यी तमाम् प्रश्नहरुको खोजिमा नै नेपाल विद्यार्थी संघ अड्किएको छ । यहि अवस्थामा देशको पुरानो विद्यार्थी संगठन अल्मलिएको छ । यसरी पार्टीको नेताहरुको अनावश्यक हस्तक्षेप गरेको कारणले नेविसंघ भित्र पुस्ता परिर्वतन भए पनि समयक्रमसँगै नेविसंघ अहिले आफैंमा कमजोर भएको छ। र यो सत्यलाई कसैले नकार्नु भ्रम मात्र हुनेछ। पञ्चायतसंग लडेको, राजा शासन र माओवादीको जर्जर लडाकुसंग समेत लडेको नेपाल विद्यार्थी संघ अनयासै नेपाली राजनीतिको कमजोर संगठन बन्न पुगिरहेको छ। कलम र मसाल अंकित झण्डाको परिभाषामा क्रान्ती, शान्ती र समृद्धिको नारा घन्काइरहदा, नेविसंघ आन्दोलनमा सहादत प्राप्त गरेका अमर सहिदहरुको बारेमा जानकारी राख्ने कार्यकर्ता अब नेविसंघ भित्र धेरै कम भैसकेको छ। जो छन त्यो गुटको राजनीति सुरक्षीत गर्नमै व्यस्त छन् ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी आर्दशको मुलमन्त्रमा समाहित हुन चाहने नविन युगका विद्यार्थीहरुसंगको ज्ञान र क्षमतासंग बैचारिक बहस गर्ने क्षमतावान नेतृत्वको अभाव भएको छ। गुटउपगुटको व्यवस्थापन गरेर पार्टी नेतृत्वसंग आफ्नो लोकतान्त्रीक अधिकारको माग गर्न सक्ने नेतृत्वकर्ताहरुको नेविसंघमा कमि भएको छ।
यी र यस्तै कुराहरुले गर्दा विद्यार्थी राजनीति र विद्यार्थी आन्दोलनका लागि कुनैबेला आकर्षणको केन्द्र बनेको नेविसंघ आज गुटउपगुटको केन्द्र बनेको छ। कांग्रेसको आन्तरिक किचलो धमिलो राजनीतिको कारणले नेविसंघ समयक्रमसंगै बन्द प्लेटफर्म जस्तै भैसकेको छ। मानौं यस्तो प्लेटफर्म जहाँबाट गन्तव्यसम्म पुग्ने ट्रेन रेलहरु बन्द भैसकेको छ। विगतमा भन्दा विद्यार्थी राजनीतिको प्राथमिकता फेरिएको छ । विद्यार्थी राजनीतिले वास्तविक विद्यार्थी र शैक्षिक एजेण्डा समात्नुपर्ने देखिन्छ । नेता र गुटको फेरो समातेर राजनीतिक स्वार्थ साँध्नका लागि क्याम्पसदेखि नै प्रशिक्षण पाउने थलोको रुपमा नेविसंघ रही रह्यो भने कांग्रेसका लागि मात्रै होइन, विद्यार्थी आन्दोलनलाई नै ठूलो क्षति हुनेछ। अर्थात लोकतन्त्रको एउटा सच्चा पहरेदार गुम्ने खतरा बढ्न सक्छ।
(झा नेविसंघ प्रदेश २ का नेता हुन्)