मुगु। कोरोना भाइरस रोकथामका लागि सरकारले लागु गरेको लकडाउनलाई बजार क्षेत्रमा पालन गरेको पाइए पनि गाँउघरमा भने स्थानियवासीहरु गाँउ नजिकका खोला र जङ्गलमा भरिभराउ हुने गरेका छन् ।
कोरोना भाईरसको रोकथामका लागि सरकारले गरेको लकडाउनलाई पालन गर्न जिल्लाका चारै स्थानिय तहले कडाई गरेका छन् । घर बाहिर ननिस्किन सम्बन्धित पालिकाका वडापालिका प्रहरी चौकीले दिनहुँ माईकिङ्ग गरेका भए पनि लकडाउनको उलंघन गर्दै सर्वसाधरण खोलामा माछा मार्न र जङ्गलमा घुच्चि च्याउ खोजी गर्न भरिभराउ हुने गरेका हुन ।
हरेक बर्ष चैत्र देखि बैशाख महिनाको अन्तिमसम्म जिल्लाका चारै स्थानियतहका सर्ब साधरणहरुका लागी घुच्चि च्याउ संकलन गर्ने उपयुक्त सिजन हो । गाँउ नजिक नदि तथा खोला भएका गाँउलेहरुका लागी खोलामा माछा मारेर बजारमा बिक्रि गरी घरखर्च जोहो गर्नेहरुका लागी फागुन देखि बैशाख सम्मको समय उपयुक्त मानिन्छ । सरकारले कोरोना भाईरस रोकथामका लागि घर बाहिर ननिस्किनका लागि चैत्र ११ गते देखि बैशाख १५ गतेसम्म बन्दाबन्दी (लकडाउन) लागु गरेको भएपनि सर्वसाधारणहरु लकडाउनको वास्ता नगरी ठुलो संख्यामा खोला र जङ्गलमा भरिभराउ हुने गरेको छाँयानाथ रारा नगरपालिका ४ का वडा अध्यक्ष बिष्णुकुमार भाम बताउँछन् ।
दिनहु ठुलो संख्यामा खोला र जङ्गलमा नजान माईकिङ्ग गरेर सर्वसाधारणलाई जानकारी गराउँदा गराउँदै पनि अटेर गरेर खोला र जङ्गल जाने गरेका छन । अब वडा स्तरमा पाँच जना सम्मको स्वयंसेवक टिम बनाई माछा मार्न र जङ्गल जानेहरुलाई रोक लगाउने र यदी लकडाउन बिपरित गरेको पाईए जरिवाना समेत तोक्ने ब्यवस्था गरिने छाँयानाथ रारा नगरपालिका १ का वडा अध्यक्ष लोकबहादुर हितानले बताए ।
लकडाउनको उल्ङघन गरी २५-३० जनाको समुह खोलामा माछा मार्न जम्मा भएको जानकारी आउने गरेपछी उक्त खोला क्षेत्रमा प्रहरी गस्ति पठाउने र ठुलो संख्यामा घुच्चि च्याउ संकलन गर्न रोक लगाउन सम्बन्धित वडा कार्यालयलाई जानकारी गराइने प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।
छायाँनाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाँउका यूवाहरु मुगु कणालीमा माछा मार्न र नुहाउन भेला भएको बेला लकडाउनमा किन यती धेरै जना भेला भएको भनी सोध्दा बजार बन्द छ, सरकारी तथा गैर सरकारी कार्यालयमा काम हुदैन, विकास निमार्णको काम पनि बन्द छ कता जानु गर्मी हून्छ नुहाउँदा सितल पनि हुने माछा पनि घरमा लान हुने त्यसैले भेला भएको हौ। आफनो समुहमा बाहिरका कोहीलाई पनि प्रवेश गर्न दिदैनौ सबै गाँउका दाजुभाई नातागोता मात्र छौ। त्यसैले कोरोना संक्रमण हामीमा हुदैन हामी ढुक्क छौ श्रीनगर गाँउका जय बहादुर मल्लले भने ।
सदरमुकाम लकडाउनका कारण जान नपाईने भएपछि आसपासका गाँउहरु चैन, कार्कीवाडा, तुम, ईम, भामवाडा, श्रीनगर, घाट, बाल, ढुम, कोटिल्ला, मन्दु, टोप्ला, पिना, मुर्मा, घटटलेख, रोवा लगायत २ दर्जन बढी गाँउका स्थानियहरु दिउसो नजिकका वनहरुमा घुच्ची च्याउ खोज्न र माछा मार्न गमगढी, मुगु कणालीतिर जाने गरेका छन् ।