arrow

लकडाउनको २४ औं दिनः यस्तो छ उल्लंघन, कार्वाही कडा  

logo
प्रकाशित २०७७ वैशाख ४ बिहिबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख ४ गतेसम्म आइपुग्दा २४ औं दिनमा चलिरहेको छ । 

सरकारले लकडाउन बैशाख १५ गतेसम्म थपिसकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढेर १६ पुगिसकेको छ । 

त्यसैगरी आशंका गरेर आइसोलेसनमा राखिएकाहरु ९९ जना भएकाले पनि लकडाउन बढाउनु पर्ने बताइएको छ । 

त्यस्तै भारतमा अझ बढी संक्रमित भएकाले पनि लकडाउन बढाउनुको विकल्प नभएको बताइन्छ । 

लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् । 

ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बिहीबार बिहान सवारी साधनको अवस्था सामान्य रहेको छ । 

बिहान ४ बजेदेखि नै लकडाउन उल्लंघन गर्नेहरुलाई कार्वाही गर्ने क्रम रहेको छ । बिहान ६ बजेसम्म ५४ मोटरसाइकल र चार पाङ्ग्रे ३ वटा सवारीलाई होल्डमा लिइएको छ ।  

विगत २४ घण्टामा ४८९ वटा सवारीलाई नियन्त्रणमा लिइएको छ । 

सवारी साधनलाई बिहानदेखि बेलुकासम्म नै होल्डमा राखिन्छ । आवश्यक परे समन्वय गरेर बढी समयसम्म पनि राख्न सकिने छ ।  

बिहीबारदेखि अलि बढी नै कडाइ गरिएको छ । अनावश्यक पास दिइने छैन । मृत्युसंस्कारमा जाने परिवारका मानिसलाई बाहेक अरु कसैलाई पनि पास नदिने प्रहरीले जनाएको छ । 

निरीक्षक श्रेष्ठले पासको दूरुपयोग गर्नेहरु बढेकाले यसमा कडाइ गरिएको बताए । 

अहिले पनि मर्निङ वाकमा निस्कने र अनावश्यक हिँडिरहने बढेकाले त्यस्तालाई रोक्न पासको सदूपयोगबारे क्रस भेरिफाइ गर्ने काम भएको उनले बताए । 

बिना सवारी हिँड्नेलाई पनि कार्वाही गरिने भएको छ । मुद्दा समेत चलाउन सकिने भएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक नबराज थापाका अनुसार लकडाउन उल्लंघन गर्नेहरु बिहीबार बिहानै काठमाडौंबाट ५६१ जना पक्राउ परेका छन् । त्यस्तै ललितपुरमा ८८ जना र भक्तपुरबाट ५ जनालाई नियन्त्रणमा लिएर होल्डमा राखिएको छ । 

सोधपुछ गरी यदि आवश्यक काममा हिँडेको भए सम्झाइबुझाइ समाधान गरी पठाइने र अनावश्यक हिँडेको भए नियमानुसार कार्वाही गर्नै थापाले बताए । 

बुधबार मात्रै काठमाडौं उपत्यकाबाट ४२ सय १० जनालाई नियन्त्रणमा लिइएको थियो । 

पछिल्लो २४ घण्टामा अपराधका कुनै पनि घटना काठमाडौं उपत्यकामा नभएका उनले बताए । 

लकडाउनका कारण घरेलु हिंसासमेत बढ्न सक्ने बताइएको छ । तर लकडाउनका कारण त्यतिधेरै घटना नभएको थापाले बताए । घरेलु घटना हुन नदिन पनि प्रहरीले समन्वय गरेको उनले बताए । 

प्रहरीले कुनै घटना भएको वा अप्ठेरो भए १०० नम्बरमा फोन गर्न वा एसएमएस गर्न आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ