पत्रकार पौडेललाई धम्क्याएकोप्रति महासङ्घ र युनियनको ध्यानाकर्षण
प्रकाशित २०७७ वैशाख ३ बुधबार
482
Shares
काठमाडौं। नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युनियनले नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
यही वैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहाना बनाएर नौ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएकाप्रति पीडित महासङ्घ र युनियनले बिरोध जनाएका हुन्।
महासङ्घका महासचिव रमेश विष्ट र युनियनका महासचिव अजयबाबु शिवाकोटीले अलग अलग वक्तव्य निकाली प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसको कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरेका छन्।