कोरोना संक्रमित व्यक्तिहरु सनसीटीको चुनावमा समेत भएका थिए सहभागी
महिलाले त गला मिलाएरै अभिवादन साँटेकी थिइन अन्य सहभागी महिलाहरुसँग
प्रकाशित २०७७ वैशाख २ मंगलबार
352
Shares
काठमाडौं। बेलायतबाट फर्केर कोरोना संक्रमति पहिचान भएका मध्ये २ जना चैत ८ मा सनसीटी अपार्टमेण्टमा गरिएको सोसाईटीको चुनावमा सहभागी भएको पाइएको छ ।
चुनावमा सहभागी भएका उनीहरुले त्यहाँ अन्य सहभागीसँग हात मिलाउने गरेका थिए । लामो समयपछि बेलायतबाट फर्केका कारण उनीहरुले उत्साहपूर्वक त्यहाँ सहभागिता जनाएका थिए। त्यसक्रममा महिलाले चाहि अन्य सहभागी महिलासँग गला मिलाएर समेत अभिवादन साँटासाट गरेकी थिइन।
चैत्र ४ गते नेपाल आइ सनसीटीमै बस्दै आएका ३ जना मध्ये २ जना चैत्र ८ गते भएको चुनावमा मतदाताको हैसियतमा सहभागी भएको पाइएको हो। उनीहरू सनसीटीको ए ब्लकमा बस्दै आएका छन् । त्यसको ४ दिन पछि सनसीटीमा चैत ८ मा चुनाव भएको थियो ।
सनसीटीको आन्तरिक व्यवस्थापनकोलागि उक्त चुनाव गरिएको थियो । चुनावमा तीलक बस्नेत अध्यक्ष तथा अर्थ मन्त्री युवराज खतिवडाको छोरा तिलक खतिवडा सचिवमा निर्वाचित भएका थिए । निर्वाचित समितिलाई सनसीटीको आन्तरिक सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिइएको हुन्छ ।
चुनावमा करिब २ सय ९० जना सहभागी भएका थिए । उक्त चुनावमा सहभागी भएका एक व्यक्तिले भने, ‘ चैत ८गते चुनाव भएको थियो । चुनावमा कोरोनाबाट संक्रमित भएका भनिएका दुई व्यक्ति पनि सहभागी भएका थिए । महिलाले अझ अन्य सहभागी महिलासँग गला मिलाउँदै समेत हिडेकी थिइन।’
चुनाव लगत्तै पछि चुनावमा निर्वाचित भएकाहरूकाहरूलाई बधाइ तथा शुभकामना दिन अर्को एउटा सानो कार्यक्रम पनि गरिएको थियो । त्यो कार्यक्रममा पनि ती कोरोना संक्रमित व्यक्तिहरु सहभागी भएको बताइएको छ ।
सरकारले चैत ५ गते देखि नै सार्वजनिक कार्यक्रम नगर्न तथा जमघट नहुन निर्देशन गरेको थियो । तर सनसीटीमा भने चैत ८ गते चुनाव गरिएको थियो ।
चुनाव भएको ३ दिन पछि देशभर लकडाउनको घोषणा गरियो । लकडाउन घोषणा पछि सनसीटीको ई ल्बकमा बस्दै आएका एक व्यक्ति परिवार सहित भक्तपुर पुगेका थिए । भक्तपुर पुगे पछि मात्र उनले ८ गतेको चुनावमा सहभागी भएका दुई व्यक्तिलाई कोरोना सक्रमण भएको जानकारी पाएका थिए ।
सनसीटी अपार्टमेन्ट नजिकै बस्ने एक व्यक्तिका अनुसार लकडाउन पछि पनि सनसीटी नजिकैको डिपार्टमेन्ट स्टोर, वीजी मार्केट, सनसीटी नजिकैका एटीम बुथहरूमा सनसीटी अपार्टमेण्टका वासिन्दाहरूको सहज आवतजावत हुने गरेको थियो । सनसीटीमा करिब ५ सय परिवार बस्दै आएको छ ।
अपार्टमेन्टमा रहेकाहरुमा कोरोना संक्रमण पाइएपछि अपार्टमेन्टमा रहेकाहरु र त्यस आसपासमा पनि तत्काल सेनिटाइज गर्न र स्वाब परिक्षणका लागि माग भएको छ। तर कोरोना संक्रमण भएको आशंका गरेर अपार्टमेन्टलाई सिलवन्दी गर्दा समेत २४ घण्टाभित्र सेनेटाइनजको लागि सामान्य प्रक्रिया बाहेक सरकारको तर्फबाट अन्य तदारुकता केहि नदेखाएको सोसाईटीका सदस्यहरुको गुनासो छ।
सोसाईटीका एक सदस्यले विरामीहरुका लागि औषधीको व्यवस्था लगायत भित्र रहेका सबैको स्वाब परिक्षण गर्ने लगायतका प्रक्रिया अगाडी बढाउन आग्रह गर्दा पनि ध्यान नदिइएको बताए। तत्काल द्रुत गतीमा काम अघी बढाउन समेत अपार्टमेन्टमा रहेकाहरुको माग छ।