डोटी। डोटीको शिखर नगरपालिकालाई झन्डै साढे २ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ। `सेवा नै धर्म हो´भन्ने मुल उदेश्यका साथ सुरु गरिएको श्री केदार बिपत व्यवस्थापनको टीमले आज नगरपालिकाको वडा नम्बर १ कपल्लेकीका वडा अध्यक्ष खडक शाहीलाई राहत हस्तान्तरण गरेको हो।
राहत हस्तान्तरण पछि अभियन्ता कलेन्द्र शाहीले भने, `विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) को कारण सृजना भएको असहज मानवीय जिवन र संकटको यस घडीमा सबैले सावधानी अपनाउन जरुरी छ। तर सावधानी कै लागि गरिएको लकडाउनको कारण दैनिकी गुजार्न र स्वास्थ्य सावधानीका लागि अति आवश्यक सामाग्रीको अभावमा रहेका नागरिकहरुलाई सहुलियत पुर्याउने उदेश्यले अभियान थालेका हौं।´
१ सय कठ्ठा चामल, ७ सेट पीपीई, ३ हजार २ सय पीस मास्क, १ हजार ८ पीस साबुन, २० बोरा सोयाविन, ४ लिटर सेनिटाईजर र २० जोडी सर्जिकल समेतगरी २ सय २० जोडा पन्जा हस्तान्तरण गरिएको उनको भनाइ छ। बलराम भट्ट, कलेन्द्र शाही, गणेश शाही, नर बहादुर नेगिलगायतको अगुवाईमा अभियान संचालन गरिएको हो।