सङ्खुवासभा । राँगोले हानेर सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–११ आङ्लाका ६४ वर्षीय तुलाराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार आफ्नै खेत आङ्लामा रहेको गोठमा राँगो बाध्नेक्रममा उनीमाथि राँगोले आक्रमण गरेको थियो । गुरुङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शवपरीक्षणका लागि शनिबार नै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । पाँचखपन नगरपालिका–२ की ५२ वर्षीया डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।
शनिबार राति ७:३० बजे राई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको पाँचखपनका नगरप्रमुख विपीन राईले जानकारी दिए ।