arrow

४ दिनमा ४ हजार हेल्थ कीट्स किन्ने अभियान यसरी भयो सफल

logo
यदु लामिछाने,
प्रकाशित २०७६ चैत २९ शनिबार
yadu-lamichhane.gif

हामीले कोरियामा अभियान सुरु गर्नु पूर्व नै कोरोना भाइरस (कोभिड १९)संक्रमण तीव्र गतिमा फैलिरहेको थियो । संक्रमित हुने देशहरुमा चीन पछि दोस्रो स्थानमा कोरिया थियो । कोरियाले एकदमै छिटो संक्रमितहरु पत्ता लगाएर भयावह अवस्थालाई कावुमा लिने प्रयास गर्‍यो । यस्तो अवस्था आउनुमा धेरै कारणहरू छन् । कोरियन सरकारको कोरोना संक्रमण रोकथामका निमित्त अहम भूमिका, बलियो आर्थिक अवस्था, आम नागरिकहरुको उच्च अनुशासन, उच्च प्रविधियुक्त कोरोना भाइरस परिक्षण गर्ने किट्स र यहाँको सरकारको सतर्कता नै प्रमुख उपाय थियोे ।

यहि अवस्थाबाट प्रभावित हुनुका साथै राष्ट्रप्रतिको माया, सद्भावले नेपालमा पनि यो प्रविधियुक्त किट्स पठाउनु पर्छ भन्ने सामुहिक धारणा निर्माण भयो । समस्या आर्थिकको थियोे । अब कसरी आर्थिक सङ्कलन गरेर यहाँको प्रविधि नेपाल पठाउने भनेर सबै सरोकारवाला पक्षहरुसँग अनौपचारिक रुपमा सल्लाह सुझाव माग्यौं । 

विभिन्न सघं संस्था तथा सरोकारवाला पक्षहरुबाट छिटो भन्दा छिटो आर्थिक अभियान सुरु गर्दै कोरोना परीक्षण किट्स नेपाल पठाउने नै पहिलो सुझाव आयो र यस्तो सकारात्मक सुझावले हामीलाई थप उत्साहित बनायो । एनआरएनए दक्षिण कोरियाको बैठक बसेर अभियानलाई तिव्र रुपमा अगाडि बढाउने अध्यक्ष यज्ञ राज सुवेदीको प्रस्तावमा मलाई संयोजकको जिम्मेवारी दिइयो ।

संस्थागत रुपमा एनआरएनए दक्षिण कोरियाले संयोजन गर्ने र कोरियावासी सम्पूर्ण नेपाली संघ संस्था एबम आम नेपाली दाजुभाई दिदी बहिनीहरुको साथ सहयोगमा स्वतन्त्र अभियान्ताहरुले सघाउने गरि हामी अगाडि बढयौं ।अभियानको नाम थियोे एक नेपाली एक हेल्थ किट्स अभियान । हुन त केन्द्रीय अध्यक्षले पनि अभियानलाई विश्वब्यापि रुपमा लिने गरि अगाडि बढौं भन्नु भएको थियो । तर हामीलाई लाग्यो राष्ट्रप्रति योगदान गर्ने कुरामा कोरियामा कार्यरत नेपालीहरु महान हुनुहुन्छ । हामीले यहाँबाट मात्रै गरौं भन्ने अठोट लिएका थियौं ।

अभियान सुरु गर्दै गर्दा करिव ४० हजार नेपालीहरु मध्येबाट कोरियन वन २० हजारका दरले कम्तीमा पनि दुई हजार नेपाली समेट्ने लक्ष्य राखियो । तर अभियान सुरु गरेको २४ घण्टा नबित्दै उक्त सहभागी सङ्ख्या २ हजार बाट माथि पुग्यो। जसले गर्दा हाम्रो यस अभियान कोरियाको ऐतिहासिक बन्यो। यस अभियानबाट नेपाली समुदायले देखाउनु भएको विश्वास, आड भरोसा अत्यन्त उच्च रह्यो। जसबाट हामीले आंकलन गरेको लक्षित समय भन्दाअगावै एक करोड पैंतालिस लाख नेपाली बराबरको रकम प्राप्त भयो।

किट्स खरिद गर्न लाग्ने भन्दा बढी रकम जम्मा भएपछि कोरोना भाइरस परीक्षण गर्दा चाहिने अन्य स्वास्थ्य सामग्रीहरू जस्तै पीपीई सेट,एन ९५ मास्क,थर्मोमिटर लगायतका अन्य सामाग्रीहरु थपेर खरिद गर्ने अभियानमा हामी सफल भयौं । यसरी कोरियावासी नेपाली दाजुभाई एवं दिदीबहिनीहरुले राष्ट्रप्रति दर्शाउनु भएको अथाह माया साच्चिकै विश्वभरि छरिएर रहेका नेपालीहरुको लागि गर्व गर्न लायक बन्यो।
यो अभियान सफल हुनुमा धेरै कुराले काम गरेको जस्तो लाग्छ । कोरियामा आफु संक्रमणको खतरामा हुँदाहुँदै पनि देशप्रति सबै नेपालीले माया देखाउनुभयो।

अर्को कुरा आयोजक र नेतृत्वप्रति पनि नागरिकको विश्वास रह्यो । मैले काँधमा आएको जिम्मेवारी इमानदारीपूर्वक गर्नुपर्छ भन्ने अनुभुती गरेर अगाडि बढे। नेपालमा पनि मेरो कर्मचारी युनियन हुँदै अन्य सामाजिक काममा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेको अनुभवले यो सन्दर्भमा सहज बनायो । कोरियामा पनि सामाजिक क्षेत्रमा सकृयतापुर्वक आबद्ध हुने अवसर पनि प्राप्त भयो ।

जिम्मेवारी अनुसारको आलोचना र सुझावलाई उर्जाको रुपमा लिनुपर्छ भन्ने मलाई अनुभूति भयो। हामीले अभियानका क्रममा वाचा गरे अनुसार  नेपालमा हेल्थ किट्स किनेर तुरुन्तै पठाउनुपर्ने थियो । यसको लागि अध्यक्ष यज्ञराज सुवेदी लगायत हाम्रो प्राविधिक टिम अहोरात्र खटेको थियोे । तर नेपालको लकडाउनको अवस्था र अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द भएको हुँदा हामीले समयमै पठाउन सकेनौं । ढिला भएको हुँदा विभिन्न शंका उपशंका एबम टिप्पणीहरु पनि आए र त्यो स्वभाविकै थियो । अन्तत नेपाली समुदायले यसको बाध्यतालाई पनि बुझिदिनु भयो ।

हेल्थ किट्स पठाउन प्राविधिक कठिनाईहरु थिए । २४घण्टा भित्र तापक्रम समायोजन गर्नुपर्ने प्राविधिक पक्ष थियो । यद्यपि कोरियन एयर चार्टर गरेर कोरियन नागरिकहरुलाई लिन जाने समय निर्धारण भयो र यसै उडान मार्फत नेपाली राजदुतावास कोरियाको सहयोगमा हामीले नेपाल हामीले खरिद गरेका सामाग्री पठाउन सफल भएका छौं । यसमा लागेको खर्च सबै रितपुर्वक हामीले फाइलिङ गर्नुका साथै पारदर्शी रुपले सार्वजनिक गर्ने नै छौं । नेपाललाई दुख्दा आज कोरियामा बसोबास गर्ने सम्पुर्ण नेपाली समुदायले गर्नुभएको सहयोग,विश्वासप्रति हार्दिक कृतज्ञता सहित धन्यवाद दिन चाहन्छु। साथै यो अभियानको नेतृत्व प्रदान गर्ने अध्यक्ष यज्ञराज सुवेदी सहित सम्पुर्ण एनआरएनए दक्षिण कोरिया कार्यसमितिप्रति हार्दिक आभार प्रकट गर्दछु । अन्त्यमा कोरियामा बस्ने सम्पुर्ण महानदानी नेपालीहरुप्रति हार्दिक नमन।

(लामिछाने एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष तथा अभियान संयोजक हुन।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ