arrow

वडाध्यक्षले छिमेकीको घरमा लगेर चिर्पट र मुक्का बर्साए, बेहोसीको चार दिनपछि उजुरी

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
rajkumar_final.jpg

तेह्रथुम । आफ्नो बारेमा नराम्रो बोल्दै हिडेको भन्दै तेह्रथुममा एक वडाध्यक्षले छिमेकीलाई शरीर थिलथिलो हुने गरी कुटपिट गरेका छन् । छथर गाउँपालिका–६, सुदापका वडाध्यक्ष टेकराज आँखेवाले छिमेकी ३३ वर्षीय राजकुमार लिम्बुलाई निर्घात कुटपिट गरेका हुन् । वडाध्यक्षको कुटपिटपछि बेहोस् बनेका लिम्बुले चार दिनपछि मंगलबार इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् । 

गत बिहिबार साँझ बाटोमा हिडिरहेका राजकुमारलाई वडाध्यक्ष आँखेवाले सल्लाह गर्न बोलाएको भन्दै छिमेकी सन्तकुविर लिम्बु र श्रीमती ममताले आफ्नो घरमा लगेका थिए । तर, राजकुमारलाई देख्नेबित्तिकै वडाध्यक्ष आँखेवाले राजकुमारको शरीरमा चिर्पट र मुक्का बर्साए । ‘मेरो बारेमा नराम्रो कुरा गर्दै किन हिडेको ? भन्दै एक्कासी हातपात गर्नुभो, सन्तकुविरका श्रीमान् श्रीमतीले मलाई समाए, वडाध्यक्षले चाँहि मुक्काले केहीबेर हानेँ, भरै चिर्पटले हान्दा बेहोस भएछु,’ पीडित लिम्बुले भने । वडाध्यक्षको कुटाईबाट घाइते भएका लिम्बुको शरिरको बिभिन्न भागमा चोट लागेको छ । उनको  कम्मर तथा तिघ्रामा निलडाम, घाउ भएको छ । 

कानुनबमोजिम कसैले व्यक्तिगत मान हानी हुने गरी बोल्नु दण्डनीय छ । कारवाही गर्न प्रहरी प्रशासन र अदालत पनि छन् । तर, छलफल गरेर मिलाउनुपर्ने पदमा बसेका जननिर्वाचित वडाध्यक्ष आफैंले शरीर थिलथिलो हुने गरी कुटपिट गर्नु गुण्डागर्दी नभए के हो ? 

आफ्नो बारेमा नराम्रो भनेको भन्दै गुण्डागर्दी शैलीमा कुटपिट गर्ने वडाध्यक्षले राजकुमारकी श्रीमतीलाई एक वर्षदेखि काममा लगाएका छन् । पीडितका अनुसार उनले पारिश्रमिक पनि दिदैनन् । राजकुमारकी श्रीमतीमा आफ्नो घरमा समेत जाँदिनन् । छोरा अन्यायमा परेकोले गाँउका सबैलाई हारगुहार गरेपनि वडाध्यक्षको डरले कसैले सहयोग नगरेको पिडितका बुबा टिकाप्रसाद लिम्बुले बताए । उनले भने, ‘प्रहरी वा कसैसंग कुटपिटको बिषयमा कुरा गरे ज्यान समेत मार्ने धम्की अध्यक्षले दिए ।’ पीडितले नजिकै रहेको ओख्रे प्रहरी चौकीमा उजुरी गर्न पुगेपनि त्यहाँ प्रहरीले उजुरी लिएन । त्यसपछि उनीहरु इलाका प्रहरी कार्यालय पुगेका हुन् । 

वडाध्यक्ष आँखेवालाई छलफलकालागि चौकीमा बोलाएपनि नआएको ओख्रे प्रहरी चौकीका प्रहरी नायब निरिक्षक कुलप्रसाद पाण्डेले बताए । ‘उजुरी आउनेबित्तिकै उहाँलाई फोन गरेको हो, तर अध्यक्ष ज्यू आउनुभएन’ उनले भने । घाइते लिम्बुको बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको ढाँड, छाती र कम्मरको एक्स–रे र अन्य घाउचोटको उपचार भइरहेको केन्द्रका डा. नबिन प्रजापतिले जानकारी दिए । वडाध्यक्ष आँखेवाले राजकुमारले मदिरा सेवन गरी आफ्नोबारे नराम्रो भन्दै हिडेकाले सामान्य कुटपिट गरेको स्वीकारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ