स्वास्थ्य सामग्री खरिदको भ्रष्टाचारमा संलग्नलाई कार्वाही गर्न नेविसंघको माग
प्रकाशित २०७६ चैत २२ शनिबार
451
Shares
काठमाडौं। कोरोना संक्रमणका कारण जारी लकडाउनलाई जनताले सहयोग गरेकै बेलामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताप्रति नेपाल विद्यार्थी संघले चासो व्यक्त गरेको छ। नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणसंग जुध्न आवश्यक औषधी र अन्य उपकरणको खरिदका प्रसङगमा उठेका विभिन्न प्रश्नहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
कोरोनाविरुद्धको लडाईमा सरकारले हेलचेक्राई गरेको भन्दै नेविसंघले अनियमिततामा संलग्नलाई कडा कारवाही गर्न समेत माग गरेको छ। नेविसंघ अध्यक्ष ढुंगानाले विज्ञप्तीमार्फत केही प्रश्नहरु समेत उठाएका छन्। डब्लूएचओले तीन महिनाअघि नै कोरोनाको संक्रमणविरुद्धका तयारीमा जुट्न सिंगो संसारलाइ आह्वान गरी सक्दा पनि किन हामी चुप लागेर बस्यौं ढुंगानाले सरकारसँग सोधेका छन्।
समय हुञ्जेल चुप लागेर बसेर, आन्तिम समयमा आएर तीन घण्टा मात्र समय राखेर बोलपत्र आह्वान गरिनु पछाडीको नियतमाथि पनि ढुंगानाले सवाल उठाएका छन्। सामानहरु बजार मूल्यभन्दा अस्वभाविक रुपमा बढी मूल्यमा किन खरिद गरियो एवं किनिएका सामानहरु कमसल र कम गुणस्तरका किन खरिद गरियो नेबिसंघले सोधेको छ।
संकटको बेलामा नेपाली जनतालाई झुक्याएर भ्रष्टाचार मा लिप्त हुनेहरु जो सुकै भएपनि नेपाली जनताले नछाड्ने नेबिसंघका महामन्त्री वलदेव तिमिल्सिनाले बताएका छन्। महामन्त्री तिमल्सिनाले भने, 'स्वास्थ्य जस्तो गम्भीर र संबेदनसिल बिषयमा खेलबाड गर्ने र भ्रष्टचारमा लिप्त हुनेहरू राष्ट्रघाती भएकाले संलग्न कसैलाइ छोडिनु हुन्न।'