मेगा बैंकबाट गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५–५ लाख सहयोग रकम हस्तान्तरण
प्रकाशित २०७६ चैत २१ शुक्रबार
886
Shares
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ। मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५-५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो। मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे। यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे।
मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ।
मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितिका सदस्यदेखि मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीहरुले पनि व्यक्तिगत योगदान गरेका छन्।