काठमाडौं। सरकारले आउँदै गरेको वर्ष २०७७ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । सोमबार साँझ गृह मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गर्दै सरकारले वर्षभरी कुन कुन दिन विदा हुने भन्ने सूची सार्वजनिक गरेको हो । पत्र अनुसार २०७७ साल भरि ५२ वटा शनिबार बिदा उल्लेख छ भने विभिन्न पर्व, जात्रा तथा जयन्तीलगायतमा बिदा उल्लेख छ ।
२०७७ सालमा शनिबार बाहेक २३ दिनको लागि बिदा दिइएको छ । शनिबारसहित वर्षभर ७५ दिन सार्वजनिक बिदा रहेको छ । वर्षको सुरुवातमा नै नयाँ वर्षका दिन १ वैशाखमा बिदा हुनेछ । १९ वैशाखमा मजदुर दिवस तथा २५ वैशाखमा बुद्ध जन्यन्तीमा बिदा दिइएको छ । १५ जेठमा गणतन्त्र दिवस, २१ जेठमा जातिय भेदभाव उन्मुलन दिवसमा पनि विदा हुने छ । यस्तै ३ असोजमा संविधान दिवसमा बिदा तोकिएको छ ।
७ कार्तिक देखि ११ कार्तिकसम्म दशैंको बिदा तोकिएको छ भने तिहारका लागि २९ कार्तिक देखि १ मंसिरसम्म बिदा छ । यसैगरी महाशिवरात्री २७ फागुनमा सार्वजनिक विदा तोकिएको छ । सदाको वर्षमाझैं तराइ र पहाडका जिल्लामा फरक फरक दिनमा होलीको बिदा तोकिएको छ । पहाडी जिल्लामा १५ चैत तथा तराईका जिल्लामा १६ चैतमा होलीको बिदा तोकिएको छ ।
यसैगरी धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि पनि सार्वजनिक बिदा उल्लेख छ । हरितालिका तिजको अवसरमा ५ भदौमा महिला कर्मचारीलाई मात्र बिदा छ । जितिया पर्व मनाउनेका लागि २५ भदौमा बिदा छ भने ४ फागुनमा बसन्त पञ्चमीका दिन शिक्षण संस्थामा मात्र बिदा तोकिएको छ । यस्तै २४ फागुनमा अन्तराष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरुका लागि मात्र बिदा उल्लेख छ । अपांगता भएका कर्मचारीलाई १८ मंसीरमा बिदा छ ।
यसैगरी काठमाडौं उपत्यकामा मात्र बिदा हुने गरी केही पर्व तथा जात्रामा बिदा तोकिएका छन । जस अनुसार २० साउनमा गाईजात्रा, १६ भदौमा इन्द्रजात्रा, २९ चैत्रमा घोडेजात्रा तथा मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा बिदा दिइएको छ ।
यसैगरी दशैंका लागि ७ कात्तिक देखि ११ गतेसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म बिदा उल्लेख छ । यसैगरी दिवावलीका लागि २९ कार्तिकमा लक्ष्मीपूजा, ३० कात्तिकमा म्हपूजा र १ मंसीरमा भाइटीकामा बिदा छ । यस्तै २५ कात्तिकमा फाल्गुनन्द विदा र १५ मंसिरमा गुरु नानक विदा हुने छ ।