एक रात सीमानाकामा अलपत्र भई खुल्ला आकाशमा बिताएका नेपाली गन्तव्यतर्फ लागे
च्यूरा र चाउचाउमै बित्यो दिन, सबैको स्वास्थ्य परीक्षणपछि छाडियो
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ चैत ११ मंगलबार
763
Shares
डोकेबजार । भारतका विभिन्न स्थानहरुबाट घर जान गौरीफन्टा नाका हुँदै कैलालीसंग सीमा जोडिएको कञ्चनपुरको डोकेबजारमा अलपत्र बनेका नेपालीहरुलाई मंगलबार गन्तव्य तर्फ पुर्याइएको छ ।
सोमबार भारतबाट घर फर्कन नेपाल भारत सीमा नाका गौरीफन्टा भएर कञ्चनपुरको डोकेबजार पुगेका उनीहरु नेपालमा लकडाउन भएपछि सीमा क्षेत्रमा फसेका थिए ।
नेपाल–भारत सीमास्थित डोकेबजारमा अलपत्र रहेका नेपालीहरु झन्डै २२ घन्टा भोकै खुला आकाश मुनि बस्न बाध्य भएका थिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाली रोकि राखेका उनीहरुले धनगढीतर्फ भित्रिन खोजेपछि बिहान केहिबेर झडपको स्थिति बन्दा प्रहरीले लाठी चार्ज गरेको थियो ।
नाकामा अलपत्र परेका ८ सय नेपालीहरुको स्वास्थ्य परिक्षण पश्चात् उनीहरुलाई बसहरुको प्रबन्ध गरी गन्तव्य स्थलतर्फ पठाइएको छ ।
रातभरी भोकै रहेका उनीहरुलाई दिउँसो विभिन्न संघ संस्थाहरुले चाउचाउ च्यूरा वितरण गरेका थिए ।
कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि भारतबाट गाउँ फर्केका उनीहरु दशगजा क्षेत्रमै थुनिएका थिए ।