विपतमा रिपोर्टिङ गर्ने पत्रकारलाई स्वास्थ्य सामाग्री
गोमा थापा,
प्रकाशित २०७६ चैत १० सोमबार
567
Shares
धादिङ। महामारी लगायतका विपत्को बेला सूचनाको ज्यादै महत्व हुन्छ। यस्ता सूचनाको सम्प्रेषण गर्ने संचारकर्मीहरु आफैं जोखिममा पर्ने संम्भावनामा हुन्छ। त्यसैले कोरोना भाइरस जस्ता महमारीमा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको दृष्टिले सहज होस् भनेर स्वास्थ्य सामाग्री वितरण गरिएको छ।
नेपाल प्रेस यूनियन धादिङले ३० जना कृयाशिल पत्रकारहरुलाई यस्ता सामाग्री वितरण गरेको हो। वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा मास्क, एप्रोन, साबुन, सेनिटाइजर, चस्मा, पन्जा र टोपी लगायतका रहेका छन्। प्रेस यूनियनले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री वितरण गरेको हो।
विपत्को बेला सूचना लिँदा र सम्प्रेषण गर्दा गम्भीर हुनुपर्दछ। कोरोना भाइरसको उद्गम स्थल चीनले आफ्नो क्रियाशिलता, आत्मविश्वास र अनुशासनबाट यसलाई नियन्त्रण गरिसकेको छ। हामीले पनि सरकार र सरोकारवालाले दिएको निर्देशन र सल्लाहलाई पालना गर्नु जरुरी छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिहर सिंह राठौरले प्रेस यूनियन धादिङले एउटा राम्रो सुरुवात गरेको र यसलाई सबैले अनुशरण गर्नुपर्ने बताए। सदस्य राठौरले विपत्को बेला रिपोर्टिङ गर्दा पत्रकारहरु निकै सचेत र सजक हुनुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य डा.मुरारी अधिकारीले द्वन्द्वको रिपोर्टिङ गर्न नेपाली पत्रकारहरु सक्षम र सिपालु भएपनि महामारी जस्तो विपत्मा रिपोर्टिङ गर्ने उनीहरुमा कमै अनुभव रहेको बताए। भुकम्प जस्ता विपत् व्योहोरेको भएपनि सिङ्गो विश्वलाई त्रसित बनाउने महामारी जस्तो विपत्मा रिपोर्टिङ गर्नु अवसर र चुनौती दुवै रहेको विचार व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल प्रेस यूनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले स्वास्थ्य सामाग्री जस्तो सानो कुरा वितरण गरिए पनि पत्रकारहरुलाई सचेत रहनको लागि सन्देश पुगोस् भनेर स्वास्थ्य सामाग्री वितरण गरिएको धारणा राखे। उनको भनाइ थियो–यति बेला विर्सन हुँदैन यो संकटमा सिङ्गो देश र देशवासी एक हुनुपर्छ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली , पूर्व अध्यक्ष द्वय सीताराम वर्मा र राजेन्द्र प्रताप शाह, प्रेस संगठनका केन्द्रिय सदस्य केशव अधिकारी, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, रेडियो बिहानीका स्टेशन म्यानेजर संजय देवकोटा लगायतका संचारकर्मीहरुको सहभागिता रहको थियो। प्रेस यूनियनका सचिव मनिष दुवाडीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रेस यूनियनका उपाध्यक्ष कृष्ण शिशिरले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।