arrow

नेताको आडमा इन्सपेक्टरको दादागिरी !

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
inspector.jpg

उर्लाबारी, मोरङ । उर्लाबारी ९ का भक्तकुमार योञ्जन तामाङले पत्रकार सम्मेलन गरी उर्लाबारी प्रहरीले आफ्नो छोरालाई बिना कारण फसाएको बताएका छन् । विहीबार विज्ञप्तिमार्फत उनले कुनै कसुरबिना छोरा इन्द्र योन्जन लामाविरुद्ध दुर्व्यवहार मुद्धा लगाएको भन्दै प्रहरीको निन्दा गरेका हुन् ।

उनका अनुसार स्थानीय दीपक गुरुङले गत फागुन २४ गते राति छोरा इन्द्रको उर्लाबारी ९ स्थित लामा फर्निचरमा पुगेर त्यहाँ काम गर्ने कामदारलाई अश्लील गालीगलौज र हुलज्जत गरेका थिए । यद्यपि गुरुङलाई उन्मुक्ति दिई झगडा गरेको भन्दै छोरा इन्द्रलाई बिना कुसुर पक्राउ गरिएको भक्तकुमारको भनाई छ ।

मदिरा सेवन गरी अर्धचेत बनेका गुरुङले हर्कत देखाउँदा उनलाई राजनीतिक संरक्षण गर्ने तर दोषीलाई सम्झाई बुझाई गर्ने इन्द्रलाई पक्राउ गर्नुले कानूनी राजको धज्जी उडेको विज्ञप्तिमा उल्लेख छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक सुवास राई अमुक व्यक्तिको उक्साहटमा परेर पुर्वाग्रही बनेको पनि विज्ञप्तिमा जनाइएको छ ।

घटनाबारे बुझ्दा एउटा श्रमीकलाई मध्यरातमा आक्रमण गर्न आउने गुरुङको हर्कतका बारे तत्कालै इन्द्रले राजघाट प्रहरीलाई खबर पनि गरेका थिए । तर, ३ सय मिटर परको प्रहरीले समेत सम्झाएर पठाउन आग्रह गर्‍यो । ‘प्रहरीले भनेअनुसार नै सम्झाएर पठाइएको हो’ भक्तकुमारले भने, ‘घटना भएको बेला कुम्भकर्णे निन्द्रामा सुत्ने प्रहरीले घटनाको ९ दिन पछि छोरालाई पक्राउ गरी मुद्धा चलाउनुको कारण बुझ्न सकिएन ।’

कामदारले ठेलेर बाहिर निकाल्ने क्रममा सामान्य घाइते भएका  गुरुङले आफ्नो उपचार झापाको विएण्डसी अस्पतालमा हुनुपर्ने जिकिर गरेका थिए । सोही अनुसार उनको उपचार पनि भइसकेको छ । गुरुङलाई चिकित्सकले ग्यास्ट्रीकको औषधी र पेनकिलर दिएर पठाएको प्रेसक्रिप्सनमा स्पष्ट देखिन्छ । सामान्य अवस्थामा फर्किएका गुरुङले क्षतिपुर्ति वापत ५ लाख रुपियाँ मागेको र माफ माग्नुपर्ने दवाव दिएपछि इन्द्रले अस्वीकार गरेका थिए । यसपछि नेकपा उर्लाबारीका अध्यक्ष उमाकान्त गौतम र गुरुङको सुनियोजित सल्लाहमा मुद्धा दायर गरिएको भक्तकुमारको बुझाई छ ।
 
देशमा तीन तहको सरकार भएपनि शक्ति र सत्ताको इसारामा चल्ने प्रहरी  प्रशासनले न्यायको अनुभुति  दिलाउन नसकेकाले आफु सञ्चारमाध्यमको शरणमा आएको उनको भनाई छ । अत : प्रहरीले फोन मार्फत नेताहरूसँग लेनदेनमा कुरा मिलाएर आफ्नो छोरालाई फसाएको दाबी गर्दै भक्तकुमारले भने, ‘माथिल्लो तहका प्रहरी अधिकृतहरूसँग उर्लाबारीका प्रहरी निरीक्षकले प्रयोग गर्ने सबै मोवाइलको कल डिटेल्स समेत छानविन होस भनी जोडदार माग गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ