कर्फ्यू लगाएर स्थिति नियन्त्रणमा, सहमतिका लागि प्रशासनको पहल भएन
प्रकाशित २०७६ चैत ४ मंगलबार
581
Shares
काठमाडौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा मंगलबार विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा कर्फ्यू आदेश जारी गरेको छ ।
पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यू आदेश जारी भएको कार्यालयले जनाएको छ ।
सोमबारको घटनालाई लिएर मंगलबार पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
“परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु आदेश जारी गरेका छौँ”, उनले भने ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।
सोमबार बा ५ख ५४८० नम्बरको टिपरले २६ वर्षकी जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरीलाई ठक्कर दिँदा दुवैको घटनास्थलमा मृत्यु भएको थियो ।
स्थानीय र आफन्तले टिपर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेपछि पनौती सोमबार बेलुका पनि तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि भन्दै गोली नै चलाएको थियो ।
उक्त झडपमा प्रहरीसहित केही स्थानीय पनि घाइते भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अहिले पनौतीबजार सुनसान भए पनि स्थिति सामान्य बनिसकेको छैन । मंगलबार बिहान पनि झडप भएको थियो ।
स्थानीय प्रशासनले स्थिति सहज बनाउन कुनै सहमतिको पहल गरेको छैन ।