प्रधानमन्त्री अझै केहि दिन अस्पतालमै, पूर्ण सक्रिय हुन एक बर्षसम्म
प्रकाशित २०७६ फागुन २७ मंगलबार
633
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केहि दिन शिक्षण अस्पताल महाराजगञ्जमा राखिने भएको छ । मिर्गौला प्रत्यारोपणको सातौ दिन उपचारमा संलग्न बिशेषज्ञ डाक्टरहरुसँग पत्रकारहरुको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
प्रधानमन्त्री ओलीका परिवारले केहि समय अस्पतालमै राख्न अनुरोध गरेको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिइन् । चिकित्सक शाहले भनिन्,'हामीले उहाँलाई डिस्चार्ज गर्न चाहेका थियौ तर उहाँका परिवारले अझै केहि समय राख्न रिक्वेस्ट गर्नुभयो ।'
केहि दिनपछि प्रधानमन्त्री निवास वा सचिवालयमा बसेर प्रधानमन्त्री ओलीले काम गर्न सक्नेछन् । सक्रिय रुपमा काम गर्न भने ६ महिनादेखि एक बर्षसम्म लाग्ने उनले बताइन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । अस्पतालका बिशेषज्ञ डाक्टरहरुले उनको स्वास्थ्यमा क्रमिक सुधारका भइरहेको बताएका छन् । प्रधानमन्त्रीलाई नियमित हिँडडुल, व्यायाम र खानपान गरिरहेका छन् ।
पत्रकारहरुको अन्तरक्रिया कार्यक्रममा मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकहरुलाई धन्यवाद दिइएको थियो । साथै प्रधानमन्त्रीलाई आफ्नो एउटा मिर्गौला दान गर्नेको नाम खुलाइएको छ । प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाले ओलीलाई आफ्नो एउटा मिर्गौला दान गरेकी बताइएको छ ।
भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो हुँदै गएको बिशेषज्ञ डाक्टरहरुले बताए । उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या सिंह शाह, डा महेश सिग्देल, डा.मकन्द काफले र डा रविन नेपाली लगायतको टोली सहभागी थियो ।