कोरोनाको कारण देखाउँदै नेपालीलाई कतार जान रोक, रोजगारमा जान ठिक्क परेका अलपत्र
कतार प्रवेशमा नेपालीसहित १४ देशका यात्रुमाथि प्रतिवन्ध
प्रकाशित २०७६ फागुन २६ सोमबार
315
Shares
काठमाडौं । कतारले कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै नेपालीसहित १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
सोमबार कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले अस्थायी रुपले उक्त रोक लगाएको जनाएको हो ।
सूचना जारी गर्दै कतार सरकारले नेपालसहित, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको हो ।
कतारमा १५ जना कोराना भाइरस संक्रमित भएकामध्ये ३ जना आप्रवासी कामदार रहेको भन्दै कतार सरकारले उक्त प्रतिवन्ध लगाउनु परेको जनाएको छ ।
ती संक्रमित कुन देशका हुन् भन्ने खुलाइएको छैन ।
नेपाली कामदारलाई समस्या
कतार सरकारको यो निर्णयले कतारमै रहेका नेपाली कामदारलाई पनि समस्या भएको छ ।
कतारमा झन्डै चार लाख नेपाली कामदार रहेका छन् ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिए पनि कामका लागि विदेश जान खोज्ने नेपालीहरुको कमी अहिले पनि छैन ।
कतार सरकारको यो निर्णयसँगै बैदेशिक रोजगारीमा जान ठिक्क परेका नेपालीहरु मर्कामा परेका छन् ।
अहिले पनि पासपोर्ट बनाउने भीड देख्दा हजारौं नेपाली युवा विदेश जान आतुर देखिएको पाइन्छ । उनीहरुको पीडालाई कोरोनाले समेत पनि जित्न नसकेको स्पष्टै हुन्छ ।
उनीहरुको योजनालाई भने अहिले कोरोनाले अलपत्र पारेको छ ।