मामा हिँडडुल गर्न थाले, भाञ्जीको स्वास्थ्यावस्था राम्रो
प्रकाशित २०७६ फागुन २५ आइतबार
549
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गरेका छन् । उनको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ ।
प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाले उनलाई आफ्नो एउटा मिर्गौला दान गरेकी हुन् । भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ । उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।
बुधबार पाँच घण्टा लगाएर उनको शल्यक्रिया भएको थियो । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नवौं नेपाली बिरामी हुन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या सिंह शाह, डा महेश सिग्देल, डा.मकन्द काफले र डा रविन नेपाली लगायतको टोली सहभागी थियो ।