काठमाडौं । चीनबाट सङ्क्रमण फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को फैलावट बढ्दै गएको र छिमेकी मुलुक भारत र भुटानमा समेत विस्तार भएको वर्तमान अवस्थामा मुलुकमा हिजोको जस्तो मात्रै सावधानीले नपुग्ने देखिएको छ । प्रतिनिधिसभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस एम्बुस भएको बताएका छन् । कोरोना नपड्किएको एम्बुस भएको उल्लेख गर्दै मन्त्री ढकालले भने, “कहाँ छ ? भन्ने थाहा नभएको तर पड्केपछि मात्रै थाहा हुने अवस्थामा रहेकाले सावधानी अपनाउनु जरुरी छ ।”
मन्त्री ढकालले जवाफमा भने, “कोरोनाको सङ्क्रमण दर फराकिलो बन्दै गएको छ, हिजोको जस्तो सावधानीले मात्र नपुग्ने अवस्थामा छ, हिजो चीनमा मात्रै थियो, अहिले युरोप, अमेरिका, दक्षिण कोरिया, जापान, इरान, अरबलगायत थुप्रै मुलुकमा रोग देखापरिसकेकाले अझै चनाखो हुनुपर्ने अवस्था छ ।” खुला सिमाना, आपसी सम्बन्ध, खानपिन तथा आऊजाऊ भारतसँग बढी हुने भएकाले पनि मुलुकमा अझै जोखिम बढेको छ ।
मन्त्री ढकालले जोखिम बढ्दो रहेकाले अहिले भन्सार नाकाबाहेक ३७ ठाउँमा हेल्पडेस्क खडा गरेर परीक्षणको तयारी गरिएको जानकारी दिए । उनले औषधि र कच्चापदार्थको आयातका बारेमा कूटनीतिक ढङ्गले भारतसँग कुरा भएको जानकारी दिँदै भारत सरकारबाट माग भएका वस्तुको उपलब्धता गराउने बचनबद्धता नेपाललाई प्राप्त भएको सदनलाई जानकारी गराए । उनले मास्क र औषधिका विषयमा बाहिर केही हल्ला देखिएको भन्दै सरकारले अनुगमन र कालोबाजारी नियन्त्रणका लागि तीव्रता दिएको बताए ।
सरकारले सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय सम्मेलन–सेमिनारमा कम जाने निर्णय गरिसकेको छ । पहिलोपटक नेपालमा हुने सगरमाथा संवाद नै सरकारले स्थगित गरेको छ । सरकार उच्चस्तरीय समन्वय समिति बनाएर नियन्त्रणका उपाय खोजी गर्दै अघि बढेको छ । मुख्यसचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले नै निर्देशक समिति बनाएर काम गरिरहेको छ । तीनै तहको सरकारको प्रतिनिधित्व हुने गरी सम्बन्धित नाकामा सहकार्यको माध्यमलाई पनि फराकिलो पार्दै जनचेतना अभिवृद्धिको कामलाई पनि अगाडि बढाएको सरकारले जनाएको छ ।
कोरोनाको सङ्क्रमण भित्रिन नदिन पहिलो त सावधानी अपनाउने, प्रवेश भएमा कसरी जोगिने ? र अति जोखिममा पुगियो भने के गर्ने ? भन्ने बारेमा सरकारले योजना बनाइरहेको उल्लेख गर्दै मन्त्री ढकालले जवाफको क्रममा भने, “पहिलो काम प्रवेश गर्न नदिनमा नै सरकार चिन्तित छ, आजको छलफलले अझै सरकारलाई बल पुगेकोे छ, रोग भित्रिन नदिनका लागि आग्रह–पूर्वाग्रहको सीमामा नबाँधी सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार छ ।”
उनले अहिलेसम्म विभिन्न सात अस्पतालमा १५५ ‘आइसोलेशन बेड’ तयार पारिएको जानकारी दिए । सही सूचनाका लागि मन्त्रालयले नियमितरूपमा सूचना सम्प्रेषण गरिरहेकाले कोही पनि आतंक हुनुपर्ने अवस्था नरहेकाले संयमता अपनाउन मन्त्री ढकालले सबैमा आग्रहसमेत गरे ।