काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गरेका छन् ।
सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।” प्रधानमन्त्रीको बुधबार दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरिसकेको छ । उनलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइरहेको छ।
आइतबार सोमबारसम्म ओली शिक्षण अस्पताल महाराजगञ्जमा रहने छन् । त्यसपछि उनलाई डिस्चार्ज गरिने छ । प्रधानमन्त्री निवासमा उनी दुई हप्ता आराम गरेपछि मात्र बाहिरी कार्यक्रममा जान सक्नेछन् । २०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
बुधबार पाँच घण्टा लगाएर उनको शल्यक्रिया भएको थियो । बुधबारै साँझ उनले पिसाब गरेका थिए । बिहीबार उनको वायु चलेको थियो भने बिहीबार दिउँसोदेखि झोलिलो पदार्थ खान थालेका थिए । उनलाई केही दिन बाहिरबाट जाने कसैले पनि भेट्न पाउने छैनन् ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नवौं नेपाली बिरामी हुन् । अहिलेसम्म नेपालमा भाएका दोस्रो प्रत्यारोपणको सफल दर सतप्रतिशत रहेका छन् ।
प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाले उनलाई आफ्नो एउटा मिर्गौला दान गरेकी हुन् । उनको स्वास्थ्य स्थिति पनि सामान्य अवस्थामा रहेको छ। उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।
मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या सिंह शाह, डा महेश सिग्देल, डा.मकन्द काफले र डा रविन नेपाली लगायतको टोली सहभागी थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्रा डा सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेका थिए ।