काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
बुधबार प्रत्यारोपण भएका ओलीको स्वास्थ्यमा अपेक्षा गरेभन्दा राम्रो सुधार भएको उपचारमा संलग्न डा प्रेम ज्ञवालीले बताए ।
उनका अनुसार आइतबार सोमबारसम्म ओली शिक्षण अस्पताल महाराजगञ्जमा रहने छन् । त्यसपछि उनलाई डिस्चार्ज गरिने छ ।
प्रधानमन्त्री निवासमा उनी दुई हप्ता आराम गरेपछि मात्र बाहिरी कार्यक्रममा जान सक्नेछन् ।
२०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यसैबीच डा ज्ञवालीले प्रधानमन्त्री ओलीलाई सजिला बिरामीको उपमा दिएका छन् । उनले भने, ‘उहाँले भनेको मान्नुहुन्छ, डाक्टरले र नर्सले भनेका कुराहरु मान्नुहुन्छ । यो गर्दिन त्यो गर्दिन भन्नुहुन्न ।’
बुधबार पाँच घण्टा लगाएर उनको शल्यक्रिया भएको थियो । बुधबारै साँझ उनले पिसाब गरेका थिए । बिहीबार उनको वायु चलेको थियो भने बिहीबार दिउँसोदेखि झोलिलो पदार्थ खान थालेका थिए ।
उनलाई केही दिन बाहिरबाट जाने कसैले पनि भेट्न पाउने छैनन् ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली नवौं नेपाली बिरामी हुन् । अहिलेसम्म नेपालमा भाएका दोस्रो प्रत्यारोपणको सफल दर सतप्रतिशत रहेका छन् ।