प्रधानमन्त्री टिचिङमा, दुई मन्त्रालयको जिम्मेवारी थपियो
प्रकाशित २०७६ फागुन २० मंगलबार
710
Shares
काठममाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हाल्नु परेको हो ।
मंगलबार राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिशनको मोलमलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।
खाली रहेको दुवै मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा छ ।
खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएका हुन् । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार मध्यराती सकिँदैछ। अर्थमन्त्री खतिवडाले पछि सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
राष्ट्रपति भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिएको राजीनामालाई स्वीकृत गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पूनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । प्रधानमन्त्री ओलीको बुधबार पुनः मिर्गौला प्रत्यारोपण गरिँदै छ । मिर्गौला दिने व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । दाताको सबै परीक्षण भने गरिसकिएको छ । नेकपाका अध्यक्ष ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा टोली तयारी अवस्थामा छ । प्रा डा ज्ञवालीसँगै अस्पतालका युरोलोजी विभागका प्रमुख डा उत्तम शर्मा, डा पवन चालिसे, प्र्रा डा दिव्यासिंह शाहलगायत चिकित्सकको सहभागिता रहनेछ । प्रत्यारोपण टोलीलाई सघाउन भारतबाट पनि विशेषज्ञ चिकित्सक नेपाल आएका छन् ।
मंगलबारै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालहुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी थिइन् ।