काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नवौं स्मृति दिवस नेविसंघले श्रद्धाञ्जली व्यक्त गरेर मनाएको छ । नेविसंघले केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
“नेपाली राजनीतिका निष्ठा, सदाचार र आदर्शका प्रतिमूर्ति, प्रजातान्त्रिक आन्दोलनका महानायक, ०४७ को संविधानको निर्माता, राष्ट्रवादी नेता किसुनजीको नवौं स्मृति दिवसको अवसरमा उहाँको स्मरण गर्दै सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गरिएको हो,” नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले भने ।
कार्यक्रममा महामन्त्रीहरु युबराज पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई नेताहरु बिपिन अधिकारी, रत्नहरी ढुंगेल, हरी आचार्य, रमेश बस्ताकोटी लगाएत सहभागी थिए।
सन्त नेता भट्टराईको ०६७ फागुन २० गते निधन भएको थियो । राणाशाही र पञ्चायतविरुद्ध अनवरत संघर्षका क्रममा लामो समय जेलजीवन बिताएका भट्टराईको १९८१ मा जन्म भएको थियो ।
झन्डै २० वर्ष कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुईपटक देशको प्रधानमन्त्रीसमेत भएका थिए ।