सुखडको जहलपुरबाट प्रहरीद्वारा अवैध काठ बरामद, एक युवक पक्राउ
गोविन्द बीसी,
प्रकाशित २०७६ फागुन २० मंगलबार
739
Shares
बौनिया। कैलालीको सुखडमा प्रहरीले चिरान गरिरहेको अवस्थामा अवैध काठ बरामद गरेको छ। शनिबार घोडाघोडी नगरपालिका वडा नम्बर-११ जहलपुरमा अवैध सालको गोलिया चिरान गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोली बरामद गरेको हो। काठ चिरान भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक नरेशकुमार ढकालको कमान्डमा खटिएको टोलीले १५६.२५ क्युफिट सालको काठ र गोलिया बरामद गरि सवडिभिजन बन कार्यालय सुखडमा बुझाइएको प्रहरीले जनाएको छ।
चिरान भएको काठ ७० थान कडी, फ्रेम गरि ७०.३१ क्युफिट रहेको र चिरान हुन बाँकी ७ थान सालको गोलिया ८१.९४ क्युफिट रहेको सवडिभिजन कार्यालय सुखडका अधिकृत समीर थापाले जानकारी दिए। घरमा काठ लुकाइछिपाई तस्करी र चिरान गरिरहेको अवस्थामा संलग्न घोडाघोडी नगरपालिका वडा नम्बर-११ का २५ वर्षीय शिवनारायण कठरियालाई प्रहरीले पक्राउ गरेको छ।
फरार रहेका सोही वडाका अन्दाजी २६ वर्षीय विजय कठरियाको खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए। उनीहरूलाई थप अनुसन्धानपछि प्रचलित बन ऐन अनुसार कार्वाही गरिने सवडिभिजन कार्यालय सुखडका बन अधिकृत समीर थापाले बताए।