दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली, हालसम्म नेपालमै हजार बढीले गरे प्रत्यारोपण
प्रकाशित २०७६ फागुन १९ सोमबार
903
Shares
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दैछन् ।
उनी पहिले पहिले थोरै मात्र शरीरमा गडबडी आउनासाथ विदेश जाने गर्थे । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदै छन् ।
आइतबार सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए ।
प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
अहिलेसम्म प्रधानमन्त्री ओलीको शल्यक्रिया गर्ने चिकित्सकीय टिमको घोषणा गरिएको छैन ।
नेपालमै प्रत्यारोपण
पटक पटक गरी सिंगापुर गएर उपचार गराउने गरेका प्रधानमन्त्री ओलीले नेपालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न खोज्दा धेरैले खुशी ब्यक्त गरेका छन् ।
यसको प्रमुख कारण हो नेपाली स्वास्थ्य क्षेत्रप्रतिको भरोसा । किनभने हालसम्म १ हजार ३ सय जनाले नेपालमै मिर्गौला प्रत्यारोपण गरिसकेका छन् ।
तीमध्ये दोस्रोपटक प्रत्यारोपण गरेकाहरूको संख्या पनि उल्लेख्य रहेको र उनीहरूको अवस्था स्वस्थ रहेको मिर्गौला रोग विशेषज्ञहरु बताउँछन् ।
मिर्गौला रोग विशेषज्ञहरु प्रधानमन्त्री ओलीको दोस्रोपटक गर्न लागिएको मिर्गौला प्रत्यारोपण जोखिमयुक्त नरहने पनि बताएका छन् । तर सहज भन्ने पक्कै छैन ।
शरीर स्वस्थ भए मिर्गौला प्रत्यारोपण गर्दा कुनै समस्या नहुने विशेषज्ञहरुको भनाइ छ । प्रधानमन्त्री ओलीको शरीरका अन्य अंगहरु स्वस्थ्य भएको बताइएको छ ।
अमेरिकाको नेसनल किड्नी फाउन्डेसनको अनुसन्धानअनुसार प्रत्यारोपण गरिएको मिर्गौला, संक्रमण दर र व्यक्तिको सक्रियताका आधारमा पहिलो र दोस्रो प्रत्यारोपणबीच कुनै खास भिन्नता नहुने बताइएको छ ।
उनको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलायसिस गर्दै आएका छन् ।
कसले दिँदैछन् मिर्गौला ?
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिनेको आधिकारिक नाम सार्वजनिक गरिएको छैन । नियमानुसार नाम सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
र पनि ओलीलाई मिर्गौला दिन धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको बताइएको छ । यसअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो ।