प्रदेश सरकार फेरिन्छ भन्ने प्रचण्डलाई मुख्यमन्त्रीले भने- 'सपना नदेखे हुन्छ'
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन १४ बुधबार
671
Shares
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले स्वर्गीय महेन्द्र नारायण निधि लोकतन्त्रकै निधि रहेको बताएका छन्। नेपाली कांग्रेस धनुषाले जनकपुरमा महेन्द्र नारायण निधिको ९८औँ जन्म जयन्ति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिले खेल्नु भएको भूमिका सदैव स्मरणीय रहने बताए ।
स्वर्गीय निधिको लोकतन्त्र प्रतिको आस्था, विचार र सिद्धान्तले उनलाई नामको निधि मात्र नभई लोकतन्त्रकै निधि बनाएको बोल्दै मुख्यमन्त्री राउतले आजको राजनीतिमा समेत उनी सबैको लागि प्रेरणाको स्रोत रहेका बताएका छन ।
मुख्यमन्त्री राउतले भने, ‘ स्वर्गीय निधिको निष्ठा, विचार, त्याग र समर्पणलाई हामी आफनो जिवनमा उतार्न सक्र्यौ भने सच्चा लोकतन्त्र स्थापना गर्न सक्छौ, समाजिक न्याय स्थापना हुन सक्छ, उत्पिडनमा रहेको समुदायले न्याय पाउन सक्छ ।’
मुख्यमन्त्री राउतले स्वर्गीय निधिले लोकतन्त्रको आन्दोलनमा खेलेको भूमिका बारे चर्चा गर्दै तत्कालिन समयमा मधेशमा भइ रहेको उच्च बसाई सराईलाई कडा विरोध गरेर मधेश प्रतिको भावनालाई प्रकट गरेको समेत बताए ।
एक फरक प्रसंगमा मुख्यमन्त्री राउतले संघीयतालाई बलियो बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जिकिर गर्दै सरकार तत्काल सरकार परिवर्तनको सपना नदेख्न चेतावनी समेत दिए।
यसै साता नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले प्रदेश नम्बर दुईका सरकार फेर्ने दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भने , ‘ केही नेताहरु मन्चै पिछे बोली फेर्छन्, अहिले संघीयतालाई धराप पार्ने गरि सरकार परिवर्तनको सपना देखि रहनु भएको छ । त्यस्तो सपना नदेखे हुन्छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले प्रदेशन नम्बर दुईमा आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार मान्य नहुने बताएका छन् ।
संघीयता र संविधान मास्न उद्दत रहेको नेकपाको सरकार प्रदेश मा आफूहरुलाई स्वीकार्य नहुने यादवले बताएका छन ।
प्रदेश नम्बर दुईमा सरकार परिवर्तनको चर्चा चलिरहेको बेला नेता यादवले संघीयता जोगाउनपनि यहाँ नेकपाको सरकार बन्न नहुने बताए ।
पूर्वमन्त्री यादवले संघीयता प्रदेश नम्बर दुई को सफलता/असफलतामा निर्भर रहेको बताए। ‘प्रदेश सरकार परिवर्तन हुने हल्ला चलेको छ,’ मुख्यमन्त्री राउतलाई पुर्व मन्त्री यादवले भने, ‘तपाईं प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, सामदाम दण्डभेद सबै अपनाउनुस्, हामी साथ दिन तयार छौं। तर, नेकपाको सरकार नबनदिनु बताए ।
‘अन्य सबै प्रदेशमा नेकपाको सरकार छ, तर उसको गिद्धे नजर प्रदेश नम्बर दुई माथि टिकेको छ, प्रदेशलाई असफल बनाउन हरेक प्रपञ्च गर्न खोजेको छ,’ पुर्व मन्त्री यादवले थपे, ‘मुख्यमन्त्रीज्यू तपाईं हिम्मत देखाउनुस, हाम्रो साथ दिन्छौ।
कांग्रेस पछिहटे कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले संघीयता र गणतन्त्र एक दिनमै चपाईदिने पुर्व मन्त्री यादवले दाबी गरे। मधेशमा आन्दोलन हुँदा संविधान संशोधन गर्न तयार नभएको कम्युनिष्ट पार्टी अहिले एकजना नेतालाई प्रधानमन्त्री बनाउन संशोधन गर्न खोजेको बताए ।
धनुषाका सभापति महेश शंकर गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राम कृष्ण यादव, प्रदेश नम्बर दुई का संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।