बार्सिलोनाबाटै बाँस्कोटा प्रकरणमा परराष्ट्रमन्त्रीले भने - कमिशन लिन छुट छैन
पोर्चुगलमा नेपाली दूतावास खोल्न माग
प्रकाशित २०७६ फागुन १२ सोमबार
550
Shares
बार्सिलोना । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोना सम्बोधनमा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रिन्टीड प्रेसको खरिदमा मुसिएको विषय तर्फ इन्गित गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले कारवाही गरेर छाड्ने सुनाए ।
प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्तालाई प्रवासमा राजनीतिक रस्साकस्सी नगरी सबैसँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको हकहितका लागि लाग्न पनि उनले अनुरोध गरे । कार्यक्रममा स्पेन, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्डसलगायत युरोपेली राष्ट्रका प्रवासी नेपाली एकता मञ्चका नेताकार्यकर्ताको सहभागिता थियो ।
यसैबीच पोर्चुगलस्थित प्रवासी नेपाली एकता मञ्चले पोर्चुगलमा राजदूतावास खोल्न नेपाल सरकारसँग माग गरेको छ । मञ्चको एक प्रतिनिधिमण्डलले पटक पटक सोबारे ध्यानाकर्षण गर्दा पनि नेपाल सरकारले चासो नदिएको भनी परराष्ट्रमन्त्रीसँग गुनासो गरेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले छिटोभन्दा छिटो सो समस्या समाधानका लागि आफू र सरकार प्रतिबद्ध भएको बताए ।