सरकारको इशारामा प्रहरीको ज्यादतीविरुद्ध नेविसंघ सडकमा
प्रकाशित २०७६ फागुन ९ शुक्रबार
568
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले ‘भ्रष्ट सरकारको इसारामा भएको प्रहरी ज्यादतीको विरुद्ध’ भन्दै शुक्रबार सडकमा प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार दिउँसो १ बजे काठमाडौंको प्रदर्शनमार्गस्थित वाल्मीकि विद्यापिठबाट सुरु हुने विरोध प्रदर्शनमा सहभागी हुन नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सबैमा आग्रह गरेका छन् ।
यसअघि भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्तामाथि प्रहरीले बिहीबार लाठी बर्साएको थियो ।
राजधानीको रत्नराज्य क्याम्पस अगाडि शान्तिपूर्ण आन्दोलनमा उत्रेका नेविसंघका कार्यकर्तामाथि प्रहरीले लाठी बर्साएको थियो ।
उक्त क्रममा नेविसंघका दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
आन्दोलनमा नेविसंघका केन्द्रिय अध्यक्ष राजीव ढुङ्गानासहित महामन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दिपक भट्टराई, हरि आचार्य, सुनिल शर्मा, सुरज सेजुवाल, दिनेश कार्की, एलिजा ढकाल, राम्जी बस्नेत, तुलसा पन्त, लक्ष्मणजंग शाही, हेमन्त गुरुङ्ग, अनिश आचार्य, तिलक बटाला, शुसिल और, संजय भण्डारी,रमित खड्का, दिपक लामा, प्रबिन जंग कार्की, सुबिन पराजुली ,गंगाराम न्यौपाने लगायत घाइते भएका हुन् ।