arrow

चौथो निर्वाचन दिवस भव्य बनाउन आयोगको तयारी

logo
रासस,
प्रकाशित २०७६ फागुन ५ सोमबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं।‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ।

उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, (२०७६/०७७–२०८/०८१), निर्वाचन स्मारिका–२०७६ र निर्वाचन न्याय, स्रोत पुस्तिका–२०७६ को लोकार्पण हुनेछ। विसं २०१५ को संसदीय आम निर्वाचन प्रारम्भ भएको  फागुन ७ को दिनलाई  २०७३ सालदेखि निर्वाचन दिवसका रुपमा मनाउन शुरु गरिएको हो। उक्त निर्वाचन पहिलो बालिगमताधिकारका आधारमा भएको आम निर्वाचन थियो।

निर्वाचन दिवसका अवसरमा आयोग र अन्तर्गत कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। “स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचन” विषयमा फागुन ७ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिनेछ।

निर्वाचन दिवसका अवसरमा आयोगले मङ्गलबार वृक्षरोपण तथा सरसफाइ, खेलकुद कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहयोगमा रक्तदानका साथै  निर्वाचन तथा मतदाता शिक्षा हाते पुस्तिका प्रकाशित गर्ने जनाएको छ। नेपालको संविधानको भाग २४ धारा २४५ संवैधानिक अङ्गका रुपमा निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ। आयोगमा प्रमुख निर्वाचन आयुक्त र अन्य चार जना आयुक्त रहने संवैधानिक व्यवस्था छ। आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया छन्।

जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरू, जिल्ला सदरमुकामस्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र पत्रकारलगायतको उपस्थितिमा आयोगले ‘निर्वाचनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्नेछ। आयोगका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय छन्।

यसवर्ष आयोगले स्थानीय तहका रिक्त पद र राष्ट्रियसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ