धादिङ । धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा९८प ७०५८ नंको स्कुटर एकापसमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्कुटरमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी २२ वर्षीया शर्मिला सिलवाल र २० वर्षीया महिमा सिलवाल रहेका छन् ।यसैगरी बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भयो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको थियो । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकी महिमा कलाकार हुन् ।