भारतको सहयोगमा गुल्मीमा चन्द्रकोट क्याम्पसको भवन निर्माण
प्रकाशित २०७६ माघ २९ बुधबार
515
Shares
काठमाडौं । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित चन्द्रकोट क्याम्पस भवनको उद्घाटन भएको छ ।
बुधबार भएको सो उद्घाटन समारोहमा भारतीय राजदूतावासका विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले दूतावासको प्रतिनिधित्व गरे ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्री, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनी लगायत स्थानीय राजनीतिक तथा सामुदायिक अग्रजहरुको उक्त समारोहमा उपस्थिति रहेको थियो ।
निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौं लगायतका शहरहरुमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय जनताको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त सामुदायिक क्याम्पसले स्नातक तहमा मानविकी, व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराइरहेको छ ।
क्याम्पसमा ९० प्रतिशत भन्दा बढी छात्राहरु अध्ययनरत छन् । क्याम्पसको अभावमा उच्च शिक्षाबाट बञ्चित हुनुपरेको सो क्षेत्रका आर्थिक तथा सामाजिक रुपले विपन्न, पिछडिएका
विद्यार्थीहरु विशेष गरी छात्राहरुका लागि यो क्याम्पसको स्थापनाले उनीहरुको उच्च शिक्षा हासिल गर्ने इच्छालाई साकार बनाएको छ ।
भारत सरकारको चार करोड ९९ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ संरचनामा १२ वटा कक्षा कोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।
गुल्मीे जिल्ला समन्वय समितिले सो परियोजनाको कार्यान्वयन गरेको हो ।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुशी व्यक्त गरेको भारतीय दूतावासले विज्ञप्ति जारी गरी जनाएको छ ।