प्यानल बिनै निर्वाचन लडे कांग्रेसको गुटबन्दी सकिन्छ : जोशी
प्रकाशित २०७६ माघ २६ आइतबार
629
Shares
दाङ । वीपी विचार राष्ट्रिय समाजका सहसभापति एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने सम्भावना रहेको बताएका छन् ।
वीपी विचार राष्ट्रिय समाज दाङ जिल्ला समितिको आयोजनामा घोराहीमा शनिवार भएको अन्तरक्रिया कार्यक्रममा जोशीले पार्टीलाई बलियो बनाउने आधार प्रसस्तै रहेको बताए । पार्टीभित्र गुटबन्दी समाप्त भएपछि मात्र नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सकिने उनको दाबी छ ।
केन्द्रदेखि वडासम्म प्यानल बनाएर चुनाव लडेकै कारण पार्टी कमजोर भएको उनको तर्क छ । त्यसैले पार्टीभित्र गुटबन्दीको अन्त्य गर्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा केन्द्रदेखि वडासम्म प्यानल बनाएर निर्वाचन लडने पद्धतिलाई अन्त्य गर्न सकियो भने गुटबन्दीको अन्त्य हुने उनको दाबी छ ।
वीपी कोइरालाले आफ्नो आत्मवितान्तमा ‘कांग्रेसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ त्यो बेला नेपाली कांग्रेस निरर्थक भएर जान्छ’ भन्ने कुरा सुनाउँदै नेता जोशीले कांग्रेसको अहिलेको अवस्थाको नतिजा त्यसैको परिणाम भएको उल्लेख गरे ।
उक्त कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले वीपी कोइरालाले नेपाली कांग्रेस बनाएको र वीपी बाहेक सवै नेतालाई नेपाली कांग्रेसले बनाएको उल्लेख गरे । वीपी कोइरालाले विचार दिएको हुनाले नेपाली समाजमा उनी अमर भएको चन्दको दाबी छ ।
सोही कार्यक्रमका समाजका सदस्य एवं पूर्व राज्यमन्त्री सुरेन्द्र हमालले वीपीको विचारलाई तल्लो तहका कार्यकर्ताहरु माझ पुर्याउनु आवश्यकता रहेकोमा जोड दिए ।