झापा । झापा जिल्लाको बिर्तामोडमा केही दिनअघि एक भारतीय नागरिकको संवेदनशील अंग (गुप्ताङ्ग) छिनाएर हत्या गर्दै शव जलाउने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बिर्तामोड नगरपालिका २, चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनाका बारेका जानकारी गराए ।
उनका अनुसार मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गर्दै स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा चौधरी र यादवले शव जलाएकाको अनुसन्धानमा खुल्न आएको छ ।
शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदूरी गर्दै आएका थिए । सोमवार साँझ यादव, चौधरी र शेखले चारपानेको एक स्थानीय होटलमा संगै बसेर मादक पदार्थ सेवन गरेका र सोही समयमा आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोश बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पुर्याएका र संवेदनशील अंग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट सम्वेदनशील अंग काट्न प्रयोग गरिएको चक्कु एक थान, मृतकलाई आगो लगाउन प्रयोग गरिएको लाइटर एक थान, मृतकको लेनोभो कम्पनीको कालो मोबाइल एक थान, मृतकले प्रयोग गरेको सिम कार्ड, घटना घटाउँदा लक्ष्मण यादवले लगाएको रगत जस्तो रातो दाग लागेको एक थान भेष्ट र घटना हुनु भन्दा अगाडि बुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठुटाहरु समेत प्रहरीले बरामद गरेको छ ।