arrow

आफ्नै पार्टीभित्र अप्रिय केपी ओली 

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
ncp-central-committee-second-meeting.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीभित्र अप्रिय हुँदै गएका छन् । 

उनको अप्रियता र कामको चर्को आलोचना काठमाडौंमा बुधबारदेखि भएको केन्द्रीय कमिटी बैठकमा देखिएको हो । 

सरकारले भ्रष्टाचार बढाएको र राम्रा काम केही नगरेको भन्दै सदस्यहरुले चर्को आलोचना गरेका छन् । 

उनीहरुले ‘शुन्य सहनशील’ भनी प्रधानमन्त्रीले खोको आवरण बनाएको भन्दै भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने प्राबधान ल्याइनुपर्ने समेत आक्रोश पोखेका छन् । 

जबकि नेपालमा मृत्युदण्डको पं्रावधान छैन । सन १९९१ मा मृत्युदण्डलाई निषेध गर्ने संयुक्त राष्ट्र संघको दस्ताबेजमा नेपालले हस्ताक्षर गरेको थियो । 

मृत्युदण्ड सम्भव नभए पनि नेकपाभित्रकै नेताहरुमाथि आक्रोश पोख्दै दिइएको त्यो प्रतिक्रिया भएको समेत विष्लेषण गरिएको छ । 

अर्थात् भ्रष्टाचारीलाई हदैसम्मको कार्वाही गर्न उनीहरुको माग हो । 

भ्रष्टाचार घट्नुको सट्टा झनझन बढ्दै गएपछि नेकपा केन्द्रीय सदस्यहरु आक्रोशित भएका हुन् । 

पार्टीका जिम्मेवार नेताहरु नै भ्रष्टाचारकाण्डमा मुछिएका कारण उनीहरुमाथि पनि सत्यतथ्य छानबिन गरिनुपर्ने नेताहरुले बताएका छन् ।

वाइडबडीकाण्ड, वालुवाटार जग्गा प्रकरण, यती होल्डिङ्स लगायतका उदाहरण दिँदै केन्द्रीय सदस्यहरुले ओली सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको दावी गरेका छन् । 

यती होल्डिङ्समा ओली आफ्नै सक्रियता छ । बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णु पौडेल प्रत्यक्ष रुपले फसेका छन् । तर विभिन्न राजनीतिक प्रभावमा परेर सीआईबीको टोलीले समेत पौडेललाई नमुछेको दावी गरिएको छ । 

एमसीसीले पो हुत्याउँछ कि ओलीलाई ?
ओलीको गलत कामलाई निस्तेज पार्न नेकपाका इतर पक्षका नेताहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई नै उठाएर ओलीलाई सत्ता संचालनको शक्तिबाट हटाउने दावी नेकपाभित्रै गर्न थालिएको छ ।
 
ओलीले जसरी पनि एमसीसी पारित गर्नुपर्ने बताइरहेका सन्दर्भमा पार्टीको केन्द्रीय कमिटि बैठकमा अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसीसीबारे एक शब्द पनि नलखिएपछि सदस्यहरु आक्रोशित भए । अधिकांशले एमसीसीको चर्को विरोध गरे ।
 
ओलीले एमसीसी सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने बताउँदै आएका छन् । 

ओली कसको बलमा एमसीसीलाई यति धेरै प्राथमिकता दिइरहेका छन् त भन्ने विभिन्न आशंका पनि बढ्दै गएका छन् । 

अमेरिकी सहयोग एमसीसीलाई भारतले पनि रुचाइरहेको छैन । चीनले त सुरुवातदेखि नै विरोध गर्दै आइरहेको छ । चीनले एमसीसीलाई सबैभन्दा विरोधी योजना ठानिरहेको छ । 

कतै ओलीलाई यही एमसीसीले नै सत्ताबाट हुत्याउने हो कि भन्ने आशंका पनि निम्तिएको छ । 

जवाफ दिँदै ओली 
नेकपा केन्द्रीय कमिटि बैठकको आइतबार समापन हुँदैछ । बुधबारदेखि सुरु भएको बैठकमा चार दिनसम्म विभिन्न १५ समूहमा रहेर केन्द्रीय सदस्यहरुले विचार व्यक्त गरेका छन् । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले अन्तिम दिन उठेका सबै प्रश्नको जवाफ दिनेछन् । तर उनले असन्तुष्ट सदस्यहरुको प्रश्नको चित्तबुझ्दो जवाफ दिनेमा आशंका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ