सशस्त्रमा ५ एसएसपीको बढुवा सिफारिस, नेपाल प्रहरीमा अन्यौल
प्रकाशित २०७६ माघ १४ मंगलबार
450
Shares
काठमाडौं। सशस्त्र प्रहरी बलका ५ एसएसपी डीआइजी बढुवा सिफारिस भएका छन्। सशस्त्रका रिक्त ५ डीआइजीका लागि १२ एसएसपी प्रतिस्पर्धामा थिए।
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेतलाई बढुवा सिफारिस गरेको छ।
सेनाबाट सशस्त्रमा आएका ४ मध्ये एसएसपी हरिश्चन्द्र अधिकारी बढुवा सिफारिसमा परेका छैनन्। सेनाबाट आएका ब्रम्हचार्य, बुढाथोकी र बस्नेत बढुवा सिफारिसमा परेका छन्। नेपाल प्रहरीबाट आएका बंशीधर दाहाल र किशोर प्रधान बढुवा सिफारिसमा परेका छन्।
तर नेपाल प्रहरीमा भने एसएसपीका ९ पद रिक्त छन्। एसपी, डीएसपी पनि रिक्त भइसकेका छन्। तर बढुवा प्रक्रिया अबरुद्ध छ। गृहमन्त्रालयका सचिव राई यही माघ २२ मा अवकाश हुँदैछन्। रिक्त १० एसएसपीका पदमा बढुवा हुनसकेको छैन।
अब १४ दिनमात्र कार्यकाल रहेका नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल बढुवा प्रक्रिया अगाडि नबढाई गोष्ठी र कार्यालय भवन उद्घाटनतिर सुदूरपश्चिम प्रदेशको भ्रमणमा गएको गुनासो प्रहरी भित्रै छ। एक सातादेखि आइजीपी खनाल भ्रमणमै रहेको एक प्रहरी अधिकारीले गुनासो गरे।
माघ १८ मा गृहसचिव राई बिदामा बस्न लागेका छन्। बढुवाका बिषयमा गृहमन्त्री, सचिव र आइजीपीबीच कुरा नमिलेकाले पनि खनाल जिल्ला सयरमा निस्किएको खनाल निकट स्रोतले बताएको छ।