काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित सपथग्रहण समारोहमा सोमबार नवनिर्वाचित सभामुखले राष्ट्रपति भण्डारीबाट सपथ लिएका हुन् ।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रप्रसाद जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।
सापकोटाले सोमबार सपथ ग्रहण गर्ने कार्यक्रमका बिच मानवअधिकारकर्मीहरु सशस्त्र द्धन्द्धमा हत्याका आरोपी रहेका अग्नि सापकोटालाई सभामुखमा सपथ नखुवाउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण गर्न पुगेका थिए । राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गर्न गएका मानवअधिकारकर्मीहरु पक्राऊ परेका छन् ।
सापकोटामाथि २०६२ साल बैशाखमा काभ्रेका अर्जुन लामालाको हत्या गर्न निर्देशन दिएको आरोप छ । उनको मुद्दाको सुनुवाई माघ २२ गते सर्वोच्च अदालतमा हुँदैछ ।
नेकपाका सांसद सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । नेता सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सोमबारका लागि पेसी तोकिएको छ ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतबार पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले आइतबार मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।
आइतबारै ब्यक्ति हत्याको आरोप लागेका र अदालतमा मुद्धा विचाराधीन रहेका व्यक्तिलाई सभामुख चयन गर्न नहुने भन्दै माईतीघर मण्डलाबाट विरोध र्याली निकालिएको थियो । माओवादी युद्धकालमा २०६२ साल बैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरेर हत्या गरेका थिए ।