कांग्रेसलाई सभामुखको धन्यवाद, आफुमाथि परेको रिटमा बोलेनन्
प्रकाशित २०७६ माघ १२ आइतबार
772
Shares
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गरे।
उनले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार व्यक्ति हत्या आरोपी सापकोटालाई सभामुख बनाउन लागेको भन्दै उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।
आइतबारै ब्यक्ति हत्याको आरोप लागेका र अदालतमा मुद्धा विचाराधीन रहेका व्यक्तिलाई सभामुख चयन गर्न नहुने भन्दै माईतीघर मण्डलाबाट विरोध र्याली निकालिएको थियो । माओवादी युद्धकालमा २०६२ साल बैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरेर हत्या गरेका थिए ।
अग्नि सापकोटाको निर्देशनमा लामाको हत्या गरिएको दाबी गर्दै लामाकी श्रीमती पूर्णिमायाले सापकोटा विरुद्ध हालेको किटानी जाहेरीको मुद्दामा यही माघ २२ गते सुनुवाई हुँदैछ ।
राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनेछन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएका हुन् ।
बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएको घोषणा गरेका थिए ।