कर्णालीमा प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुर्याइने
प्रकाशित २०७६ माघ १० शुक्रबार
819
Shares
सुर्खेत । ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ शुक्रवार विहानदेखि शुरु भएको कर्णाली प्रदेश विकास परिषदको वैठक सकिएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी सुर्खेतमा वसेको वैठक कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गर्दै सम्पन्न भएको हो ।
वैठकमा सहभागि परिषद सदस्यहरुले योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मुलभुत रुपमा सही भएपनि अझै वस्तुनिष्ठ वनाउन सुझाव दिएका छन ।
प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि वैठकमा सहभागि परिषद सदस्यहरुले आधार पत्रका वारेमा आ–आफ्ना सुझाव राखेका थिए । वैठकमा ४३ जना परिषद सदस्यहरुले सुझाव राखेका थिए ।
वैठकमा वोल्दै परिषद अध्यक्ष एवं मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीवाशी वनाउने दायित्व सवैको भएको बताए । उनले समृद्ध प्रदेशको एजेण्डामा सवैको एकता आवश्यक भएको वताउदै रचनात्मक रुपमा अघि वढनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहीले कर्णालीमा लगानीमैत्री वातावरण वनाउन सरकार गम्भीरतापुर्वक लागेको वताउदै ५ वर्षमा १ हजार १ सय ४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुर्याउने लक्ष्य साथ सरकार अघि वढेको बताए ।
वैठकमा प्रमुख प्रतिपक्षी दलका नेता जीवनवहादुर शाहीले कर्णाली प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको वताउदै जिल्ला सदरमुकाम सम्म सडक नै नपुगेको वेला जलमार्ग, हिमाली एअरपोर्ट, विद्युतीय रेलमार्ग जस्ता योजनाहरु काल्पनिक देखिने धारणा राखे ।
कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको आज सम्पन्न वैठकमा प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेश सभाका संसदीय दलका नेताहरु, संसदीय समितिका अध्यक्षहरु, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिवहरु, कर्णाली प्रदेश भित्रका सवै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।