काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा मंगलबार राति ६ खेल भएका छन् । जसमा १८ गोल भएको छ । म्यान्चेष्टर सिटीले सफलता हासिल गर्दा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् ।
सिटीले सेफिल्ड युनाईटेडलाई उसकै मैदानमा १–० गोल अन्तरले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरोले ७३ औं मिनेटमा विजयी गोल गरे ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले सिटीका लागि गोल गरेका थिए ।
यता, चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । लण्डन डर्बीमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
२६ औ मिनेटमा डेबिड लुईस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।
खेलमा अग्रता २८ औ मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट चेल्सीले लिएको थियो । ग्याब्रियल मार्टिनेलीको गोलमार्फत आर्सनल खेलमा फर्कियो ।
ब्राजिली युवा स्टारले ६३ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । खेल सकिन ८ मिनेट अगाडी चेल्सीका कप्तान सिजर एजिपिलिकुएटाले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेटपछि हेक्टर बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई एक अंक दिलाउन सफल रहे ।